०१ फागुन, काठमाडौं । इन्टरनेट मार्फत गुणस्तरीय भ्वाइस कल सेवा दिन एनसेलले भ्वाइस ओभर वाइफाइ (भोवाइफाइ) सेवा सुरु गरेको छ । नयाँ प्रविधिमा उपभोक्ताको पहुँच सुनिश्चित गराउने उद्देश्य स्वरूप एनसेलले यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
यो सेवाले ग्राहकलाई कुनै पनि भरपर्दो वाइफाइ इन्टरनेट प्रयोग गरी स्पष्ट सुनिने एचडी भ्वाइसमा कल गर्न र एसएमएस आदानप्रदान गर्न सक्षम बनाउने एनसेलले जनाएको छ ।
वाइफाइ कलिङ नामले पनि चिनिने भोवाइफाइ सेवा कमजोर मोबाइल नेटवर्क सिग्नल भएका स्थानहरू जस्तै घर अथवा ठूला विल्डिङका बेसमेन्ट र दुर्गम स्थानमा सेवा लिन समेत प्रयोग गर्न सकिन्छ ।
प्रारम्भिक चरणमा एनसेलको यो सेवा आइफोन ८ र त्यसमाथिका आइफोन मोडेलहरूमा उपलब्ध हुने एनसेलले जनाएको छ ।
यसको विषेशता भनेको सेवाबाट फाइदा लिनका लागि अतिरिक्त शुल्क लाग्दैन । ग्राहकले विद्यमान भ्वाइस र एसएमएस सेवाको शुल्कमा नै यो सेवा लिई कमजोर मोबाइल नेटवर्क भएका स्थानमा पनि विस्तारित नेटवर्क कभरेजको फाइदा लिएर सम्पर्कमा रहिरहन सक्छन् ।
भ्वाइस ओभर लङ् टर्म इभोलुशन (भोल्टे) सेवाका लागि फोरजी आवश्यक भए जस्तै, भोवाइफाइका लागि भरपर्दो वाइफाइ कनेक्सनको आवश्यकता पर्दछ ।
कमजोर मोबाइल नेटवर्क भएका ठाउँहरूबाट कुराकानी गर्दागर्दै मोबाइल नेटवर्क भएको स्थानमा पुगेमा विना कुनै बाधा भोवाइफाइबाट मोबाइल नेटवर्कमा स्वतः स्विच हुने यो प्रविधिको एक मुख्य विषेशता हो । यसले अस्थिर र कमजोर मोबाइल नेटवर्क भएका स्थानका ग्राहकका लागि धेरै फाइदा पुर्याउने एनसेलले जनाएको छ ।
भोवाइफाइ सेवा चलाउन मिल्ने मोबाइल सेट भएका ग्राहकले एनसेल एप डाउनलोड गरी एपमार्फत यो सेवा एक्टिभेट गनुपर्ने हुन्छ । त्यस पश्चात ग्राहकले कुनै पनि भरपर्दो वाइफाइमार्फत भोवाइफाइ सेवाको फाइदा लिन सक्छन् ।
सेवा एक्टिभेट गर्नुअघि, ग्राहकहरूले भोल्टे र भोवाइफाइ वा वाइफाइ कलिङ् दुवै आफ्नो मोबाइलमा सक्रिय अर्थात स्विच अन गरेको हुनुपदर्छ । त्यसका लागि सेटिङमा गएर, मोबाइल नेटवर्कभित्र गई सिमकार्ड छान्नु पर्दछ र भोवाइफाइ, वाइफाइ कलिङ वा सोही अनुसार छानेर सक्रिय गर्नु पर्दछ ।
यसरी ग्राहकले आफ्नो मोबाइलमा भोवाइफाइ वा वाइफाइ कलिङ देखेमा सो मोबाइलमा भोवाइफाइ सेवा चल्ने बुझिन्छ । सेटिङ्मा भोवाइफाइ, वाइफाइ कलिङ सक्रिय गर्ने प्रक्रिया एन्ड्रोइड र आईओएस दुवैका लागि समान रहेको छ ।
+ There are no comments
Add yours