बबरमहलमा फुटेको पाइप मर्मत सकियो, पानी पठाएर परीक्षण गरिँदै

०१ फागुन, काठमाडौं । काठमाडौंको बबरमहलमा बुधबार दिउँसो विद्युत् प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत सकिएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार करिब २० घण्टामा पाइप मर्मतको काम सकिएको हो ।

उनका अनुसार अहिले पाइपमा पानी परीक्षणको काम भइरहेको छ ।

‘पानी परीक्षणको कार्य भइरहेकाले परिक्षण सम्पन्न हुनासाथ पानी वितरण प्रक्रिया सुरु गर्नेछौं,’ उनले भने ।

बुधबार रातिबाटै पाइप मर्मतको काम थालिएको थियो ।

उक्त पाइप फुट्दा बुधबार दिउँसो बबरमहल क्षेत्र डुबानमा परेको थियो । प्राधिकरणले ड्रिलिङको काम गर्दा पाइप फुट्न पुगेको थियो ।

पाइप फुटेपछि करिब ४ घण्टासम्म पानी आइरहेको थियो ।

प्राधिकरणले उपत्यकामा विद्युत्‌का तारहरू व्यवस्थित गर्न भन्दै अण्डरग्राउण्डको काम गरिरहेको छ ।

खानेपानी मन्त्री प्रदीप यादवले भने मन्त्रालय र मातहतका निकायसँग समन्वयन नगरी प्राधिकरणले काम गर्दा पाइप फुट्न पुगेको बताएका छन् ।

प्राधिकरणले पनि आफूहरूको गल्तीकै कारण पाइप फुटेको स्वीकार गरिसकेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours