‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ का लागि कलाकारहरू लन्डनमा

०१ फागुन, लन्डन । ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ को आयोजनामा बेलायतमा १५ फेब्रुअरी शनिबार हुन् गइरहेको अन्तर्राष्ट्रिय स्तरका दुई रियालिटी शो मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन २ को यूके अडिसनका लागि केही नेपाली कलाकारहरू लन्डन आइपुगेका छन् भने केही कालाकार आज राति आइपुग्ने छन् ।

कार्यक्रमका लागि आयोजक टोली अमेरिकाबाट बुधबार बिहान लन्डन आइसकेको छ भने यूके अडिसनकै लागि नेपालबाट कलाकारहरू अभिनेत्री केकी अधिकारी, गायिका सुनिता दुलाल र सञ्चारकर्मी नरेश भट्टराई आज बिहीबार राति लन्डन आइपुग्ने कार्यक्रम छ । अभिनेता धिरेन शाक्य, मोडल रीना थापामगरलगायतका कलाकारहरू बेलायत आइसकेका छन् । शनिबार र आइतबार दुई दिनसम्म चल्ने भनिएको उक्त कार्यक्रम शनिबार एक दिन मात्र हुने आयोजकले बताएका छन् । कार्यक्रमको तयारी लगभग पूरा भइसकेको आयोजकले बताए ।

संसारभरका नेपालीभाषी समुदायबाट गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरू पहिचान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएका छन् । भ्वाइस्’ र ‘डान्स’ दुवै विधाका विजेतालाई १ करोड रुपैयाँको पुरस्कार राखिएको छ । यसै गरी पहिलो रनर अपलाई २५ लाख, दोस्रो रनरअपलाई १० लाख तथा टप टेनमा पर्ने सबैलाई एक एक लाख रुपैयाँ नगदसहितको पुरस्कार दिइनेछ ।

यूके अडिसनमा अहिलेसम्म २० जनाले नाम दर्ता गराइसकेको कार्यक्रमका यूके संयोजक मनसुदन थापामगरले जानकारी दिए । इच्छुक प्रतिभाहरूले अझै पनि फाउन्डेसनको वेवसाइटमार्फत् नाम दर्ता गर्न सक्ने बताए । अनलाइन वा फिजिकल दुवै माध्यमबाट अडिसनमा भाग लिन सकिने भन्दै संयोजक मगरले अडिसन कार्यक्रम निःशुल्क भएकाले सबैलाई उपस्थित भएर नव प्रतिभाहरूमा हौसला प्रदान गर्न समेत अनुरोध गरेका छन्।

‘मेरो भ्वाइस् युनिभर्स’ मा वरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायकहरू शिव परियार र पुष्पन प्रधान, गायिकाहरू अन्जु पन्त र तृष्णा गुरुङ निर्णायकको भूमिकामा छन्। ‘मेरो डान्स युनिभर्स सिजन २’ को निर्णायकमा वरिष्ठ कलाकार मिथिला शर्मा, नायक दिलिप रायमाझी, अभिनेतृ शिल्पा मास्के तथा कोरियोग्राफरहरु शंकर विसी, कविराज गहतराज र किरण थापा छन्।

विश्वभरबाट स्थलगत अडिसनमा छनौट भएका भ्वाइसका लागि १२० र डान्सका लागि १२० गरि २४० जना कलाकारहरूलाई थप प्रतिस्पर्धाका लागि काठमाडौँ लगिने बताइएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours