एनएसजेएफ पत्रकारिता पुरस्कारबाट भण्डारी र सापकोटा सम्मानित

२८ माघ, काठमाडौं। यस वर्षको एनएसजेएफ अग्रज खेलकुद पत्रकारिता अवार्डबाट वरिष्ठ पत्रकार श्रीविक्रम भण्डारी र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट विनय ज्योति सापकोटा सम्मानित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले २९औं स्थापना दिवसका अवसर पारेर सोमबार आयोजित कार्यक्रममा मेरोखेल डटकमका सम्पादक भण्डारी र कान्तिपुर टेलिभिजनका सापकोटालाई सम्मान गरेको हो ।

‘अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन’ भन्ने नाराका साथ मञ्चले हरेक वर्ष स्थापना दिवसको अवसरमा यो अवार्ड दिँदै आएको छ । पछिल्लो एक दशकदेखि मञ्चले यो अवार्ड प्रदान गर्दै आएको थियो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङको उपस्थितिमा वरिष्ठ पत्रकार भण्डारीलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले २५ हजार नगद, ताम्रपत्र र दोसल्लासहित सम्मान गरे । सुदूरपश्चिमको डडेलधुरामा जन्मिएका भण्डारीले २०४४ सालदेखि खेलकुद पत्रकारिता गर्दै आएका छन् । २०४४ सालमा हुवाहुरीका कारण दशरथ रगंशालामा ९० जनाभन्दा बढी व्यक्तिको ज्यान गएको समयमा रिपोर्टिङ गर्दै भण्डारीले आफ्नो करियर सुरु गरेका थिए ।

त्यस्तै खेलकुदमन्त्री चौधरीले युवा पत्रकार सापकोटालाई ल्यापटप र ताम्रपत्र प्रदान गर्दै सम्मान गरेका थिए । सापकोटा पछिल्लो ६ वर्षयता खेलकुद पत्रकारितामा सक्रिय छन् ।

सम्मान कार्यक्रममा भण्डारीले तीन दशक अगाडि आफूहरूले स्थापना गरेको संस्थाबाट सम्मानित हुन पाउॅंदा खुसीको सीमा नै नरहेको बताए । पछिल्ला वर्ष मञ्चले अन्तर्राष्ट्रिय समन्वयका साथै विभिन्न किसिमका गतिविधिहरूमार्फत नयाँ उचाइमा पुर्‍याउँदा आफूलाई धेरै खुसी लागेको उनले बताए ।

युवा पत्रकारिता पुरस्कार प्राप्त गरेका सापकोटाले एनएसजेएफद्वारा प्रदान गरिॅंदै आएको यो अवार्ड एकदिन आफूले पनि हासिल गर्ने लक्ष्य लिएको र आज यो अवार्ड प्राप्त गर्दा खेलकुद पत्रकारितामा प्रोत्साहन मिलेको धारणाा राखे ।

युवा तथा खेलकुद मन्त्री चौधरीले सम्मानित पत्रकारद्वयलाई बधाई दिॅंदै नेपाली खेलकुद क्षेत्रले प्रतीक्षा गरिरहेको दशौं राष्ट्रिय खेलकुद निर्धारित मितिमा नै आयोजना गर्ने प्रयास भइरहेको बताए ।

त्यसैगरी राखेप सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुद विकासमा खेलकुद पत्रकारको भूमिका विशेष रहेको उल्लेख गर्दै आज खेलकुद पत्रकार सम्मानित भइरहँदा समग्र नेपाली खेल क्षेत्र नै सम्मानित भएको महसुस गरेको बताए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours