२८ माघ, खोटाङ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नाराणकाजी श्रेष्ठले राजनीतिक सहमतिको आधारमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारी सिफारिस समिति गठन गर्न सरकारसँग माग गरेका छन् ।
द्वन्द्वपीडितले अझै पनि न्यायको अनुभूति गर्न नसकेको भन्दै श्रेष्ठले शान्ति प्रक्रिया छिटो टुंगो लगाउन त्यस सम्बन्धी आयोगमा छिटो पदाधिकारी नियुक्त गर्नुपर्ने बताए ।
आज खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आज आयोजित पार्टीको नगर सम्मेलनलाई सम्बोधन गर्दै श्रेष्ठले सो धारणा राखेका हुन् ।
यसअघि सरकारले दुईवटा आयोगमा पदाधिकारी नियुक्तिको सिफारिस गर्न पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा समिति गठन गरे पनि त्यो समितिले सहमति नजुटेको भन्दै सिफारिस गर्न सकेको थिएन । त्यसैले अर्को सिफारिस समिति तत्काल गठन गर्नुपर्ने श्रेष्ठले बताए ।
शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्ने भए पनि उक्त काम पूरा नगरेर तरबार झुण्डाइरहने काम भएको उनको टिप्पणी छ ।
श्रेष्ठले संविधानको रक्षा, शान्ति प्रक्रियाको पूर्णता र सामाजिक आर्थिक रुपान्तरण अहिलेको मुख्य कार्यभार भएको भन्दै श्रेष्ठले ती कार्यभार छिटो पूरा गर्नुपर्ने बताए । ‘छिटो राजनीतिक सहमतिको आधारमा जिम्मेवारी सिफारिस कमिटी गठन गरियोस् । त्यसको सिफारिसको आधारमा सरकारले शान्तिप्रक्रियाको काम पूरा गरोस्,’ उनले भने ।
सामाजिक आर्थिक रुपान्तरणको कार्यभार पूरा गर्नुपर्ने भन्दै उनले त्यो काम माओवादी केन्द्रले मात्र पूरा गर्न सक्ने श्रेष्ठले बताए । ‘हामी चाहन्छौं यो कार्यभार हाम्रो पार्टीले पूरा गर्नुपर्छ । हाम्रो पार्टीले यो कार्यभार पूरा गर्न सकेन भने अरु कुनै पनि पार्टीले गर्न सक्दैन,’ उनले भने ।
शान्तिप्रक्रिया पूरा गर्न नसके र आर्थिक समाजिक रुपान्तरणको काम गर्न नसके देश ठूलो दुर्घटनामा पर्ने उनले चेतावनी दिए ।
+ There are no comments
Add yours