चालु आर्थिक वर्षको सात महिनामा चोरी भएका ३०३ वटा सवारी साधन भेटिए, ४८ जना पक्राउ

२८ माघ, काठमाडाैं । विभिन्न मितिमा हराएका २० वटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले सोमबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले १२ वटा मोटरसाइकल र ८ स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा पेप्सीकोला, काँडाघारी, फर्पिङ, कालिमाटी, लैनचौर, गौशाला, धर्मस्थली, नयाँबसपार्क, बौद्ध लगायतका स्थानबाट ट्राफिक प्रहरीले फेला पारेको थियो।

योसँगै साउनयता मात्र प्रहरीले ३०३ वटा सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। चोरीका ३३ दुई पाङ्ग्रे सवारी साधनसहित चोरीमा संलग्न ४८ जना व्यक्तिलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ।

आर्थिक वर्ष २०७९-०८० मा ४९९ र आर्थिक वर्ष ०८०-०८१ मा ४१७ वटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक संजयबहादुर राउतले सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन आग्रह गरे।

You May Also Like

More From Author

+ There are no comments

Add yours