ललितपुरबाट ४ वर्षीय बालकको अपहरण, कलंकीबाट भियतनामी नागरिक पक्राउ, यसरी गरियो अपहरित बालकको उद्धार

२८ माघ, काठमाडौँ । पाटन मंगलबजार बस्ने सरिता तामाङ दरबार स्क्वायरमा चिया बेच्छिन्। उनीसँगै साथमै हुन्छन्, दुई जना छोराहरू। उनीहरू पनि आमालाई चिया बेच्न सघाउने गर्छन्।

यहि माघ २४ गते राति पनि सरिता छोराहरूसँगै चिया बेच्न पाटन दरबार स्क्वायर पुगेकी थिइन्। सधैंझैं उनी काममा व्यस्त भइन्। दुई छोराहरू सँगै खेल्दै थिए। केहीबेरमा ठूलो छोरा भाइ हरायो भन्दै एक्लै उनीछेउ आइपुगे। जिरे भनिने ४ वर्षीय पल चेपाङ एकाएक हराए। उनले यताउता खोजबिन गरिन् तर फेला पारिनन्। उनले नजिकै रहेको प्रहरी प्रभाग मंगलबजारमा खबर गरिन्। 

बच्चा अपहरण भएको हुनसक्ने शंका गर्दै प्रहरीले खोजी कार्य अगाडि बढायो। माघ २५ गते साँझ अपहरित बालक पल तामाङलाई प्रहरीले कलंकीको एक होटलबाट उद्धार गरेको छ। उनलाई अपहरण गरेर लैजाने व्यक्ति भने विदेशी नागरिक रहेको प्रहरीले बताएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख रमेश वस्नेतका अनुसार बालक अपहरण गर्ने भियतनामी नागरिक पक्राउ परेका छन्। २३ वर्षीय भियतनामी नागरिक माई होङ किन्हालनले बालकलाई प्रलोभनमा दिएर कलंकी पुर्‍याएर एक होटलमा बन्धक बनाएका थिए। बालकलाई कलंकीस्थित इलाम मेची गेष्ट हाउसबाट उद्धार गरिएको छ। 

बालक अपहरण गरेर लैजाने भियतनामी नागरिक माई होङ किन्हालनको ट्राभल हिस्ट्रि भने अलि शंकास्पद भएको प्रहरीले बताएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार ति युवकसँग प्रहरीले भारतीय आधार कार्डसमेत फेला पारेको छ। बालकलाई भियतनामी नागरिकले भारतको पन्जाव लैजाने तयारी गरेका थिए। बालकलाई बेचबिखनका लागि लैजान अपहरण गरेको जस्तो देखिन्छ। 

प्रवक्ता आचार्य भन्छन्, ‘पक्राउ परेका युवक विभिन्न १७ वटा भाषा बोल्छन्। उनको मोबाइलमा भारतीय नागरिकका धेरै आधारकार्डहरू रहेका छन्। बच्चा लिएर हिँड्नुपर्ने कुनै कारण बताएका छैनन्। बच्चाको परिवारलाई फोन गरेर कुनै रकम मागेको, बार्गेनिङ गरेको पनि भेटिँदैन। उनीसँग विभिन्न कम्पनीका ३ वटा मोबाइल रहेका छन्। साथै एउटा ल्यापटप र चक्कू पनि उनको साथबाट बरामद भएको छ। उनीसँग रहेको भियतनामी रकम २० हजार पनि प्रहरीले बरामद गरेको छ। 

भियतनामी नागरिक सन् २०२३ डिसेम्बर २७ मा पहिलोपटक नेपाल आएका थिए। त्यतिबेला ११ दिन मात्रै बसेर भारतको नयाँ दिल्ली फर्किएका थिए। उनी पुनः सन् २०२४ अप्रिल २७ मा भारतको पन्जावबाट सडकमार्ग हुँदै फेरि नेपाल आएका थिए। उनी काठमाडौंमा होटल फेर्दै बसोबास गर्दै आएका थिए। उनी काठमाडौंको स्वयम्भूस्थित होटलमा दुई महिना, ठमेलको होटलमा एक हप्ता, बानेश्वरको एक बोइज होस्टलमा विगत ६ महिनादेखि बस्दै आएका थिए।

बालक अपहरण गरेर लैजाने भियतनामी नागरिक माई होङ किन्हालनको ट्राभल हिस्ट्रि भने अलि शंकास्पद भएको प्रहरीले बताएको छ।

काठमाडौंमा बसेर उनले विभिन्न भाषा सिक्दै आएका थिए। स्वयम्भू, कपन, बौद्धलगायत विभिन्न गुम्बाहरूमा पनि उनले लामा भाषा सिकेका थिए। उनी पटक–पटक ललितपुरको पाटन दरबार स्क्वायर जाने गरेका थिए। त्यहि क्रममा अपहरित बालक र उनको दाजुसँग क्रिसमसको साँझ पाटनमै पहिलोपटक भेट भएको थियो। ति युवकले बालकहरूलाई चकलेट, चिप्स तथा विभिन्न खानेकुरा दिएर नजिक बनाएका थिए। त्यसयता उनीहरूको पटक–पटक भेट भएको थियो। 

बालक पललाई उनले माघ २४ गते पाटनबाट अपहरण गरेका थिए। घटनाबारे खबर पाएपछि प्रहरीले सीसीटिभी फुटेज संकलन गरेर अनुसन्धान सुरु गरेको थियो। पाटनबाट इन्ड्राइभ बुक गरेर उनी झम्सिखेल गएको र त्यँहावाट पुनः अर्को ट्याक्सी चढेर उक्त दिन उनी सुन्धारा पुगेका थिए। ट्याक्सी बुक गरेर काठमाडौंको सुन्धारास्थित श्री गुरु होटलमा बसेका थिए। 

उनले काठमाडौंबाट वीरगञ्ज जाने न्यू साजन एसी सोफा विथ स्लिपर कोचको बस नम्बर ६८१८ नम्बरमा दुई वटा सिट बुक गरेर टिकट काटेका थिए। उनी सोही दिन कलंकीमा रहेको उक्त होटलमा पुगेका थिए। होटल सञ्चालकलाई उनले बालक आफ्नो दिदीको छोरा रहेको भनेर झूटो विवरण दिएका थिए। बालकलाई वीरगञ्ज हुँदै भारतको पन्जाव पुर्‍याउने योजना रहेको खुलेको छ। भियतनामी नागरिक नेपाली समेत बोल्छन्। 

प्रहरीसँगको बयानमा उनले आफू पाटन घुम्न जाँदा बालकलाई भेटेको बताएका छन्। बालकलाई भेट्ने क्रममा उनकी आमाले बच्चालाई अत्यन्त पिट्ने गरेको र आफूलाई माया लागेर लिएर आएको बयान दिएका छन्।
 

You May Also Like

More From Author

+ There are no comments

Add yours