ग्वार्को फ्लाइओभरको निर्माण अलपत्रः ठेकेदारले किन छाडे काम ?

२३ माघ, काठमाडौं । चक्रपथ सडक खण्डमा ट्राफिकजामलाई व्यवस्थापन तथा नियन्त्रण गर्न ललितपुरकाे ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम पूरा गर्न ठेकेदार कम्पनीलाई हम्मेहम्मे परेको छ । फ्लाइओभर निर्माणमा कुल लागत भन्दा बढी खर्च आएपछि कम्पनीलाई अहिले उक्त काम सम्पन्न गर्न सकस परेको हो ।

ठेकेदार कम्पनी आशिष–समानान्तर–रेलिगेर जेलिभर काठमाडौंले निर्माण गरेको उक्त फ्लाइओभरको भौतिक प्रगति पनि सन्तोषजनक छैन । यद्यपि नेपालको यो पहिलो परियोजना भएकाले र केही अवरोधहरू आएका कारणले काम सक्न समय लागेको कम्पनीका परियोजना प्रबन्धक कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार हालसम्म फ्लाइओभर बनाउँदा ठेक्का सम्झौताभन्दा डबल खर्च भइसकेको छ । यति मात्र नभई फ्लाइओभरको काम एक महिना अघिदेखि ठप्प भएको छ । निमार्ण कम्पनीले गरेको काममा समस्या देखिँदा काम रोकिएको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सूचना अधिकारी प्रदिप भण्डारीले बताए ।

सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले उक्त ठेकेदार कम्पनीलाई २०७८ फागुन १२ गते फ्लाईओभर निर्माण गर्ने जिम्मा दिएको थियो । ‘निमार्ण कम्पनीले गरेको काममा समस्या देखिँदा हाम्रो संस्थाले निर्माणमा सुधार गर्न भनेर पत्राचार गरेको थियो, त्यसपश्चात् काम रोकिएको छ । त्यस विषयमा छलफल भइरहेको छ ।’ भण्डारीले भने ।

एक महिनादेखि निर्माण कार्य ठप्प भएपछि फ्लाइओभर निर्माण सम्पन्न गर्ने मिति पनि अन्योलमा परेको छ । भण्डारीका अनुसार पुलको प्यानलहरुको ग्याप बढी भएपछि निर्माण कम्पनीलाई काममा सुधार गर्न विकास केन्द्रलाई पत्राचार गरेको थियो ।

१७ करोड ६ लाख ८८ हजार रुपैयाँमा फ्लाइओभर बनाउने जिम्मा पाएको उक्त कम्पनीले अहिलेसम्ममा करिव ८० प्रतिशत काम सकेकाे छ । गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले २ वर्षको म्याद राखि २०८० फागुन ११ गतेसम्म निमार्ण कार्यसक्ने गरी उक्त कम्पनीलाई जिम्मा दिएको थियो । फ्लाइओभरको नक्सा परिवर्तन गरी निर्माणको कार्य सुरु गर्न ढिलाइ हुँदा सम्पन्न मिति सारेर २०८१ पुस ८ गतेसम्म आयोजनाको काम सक्ने लक्ष्य राखियो ।

तर, थपिएको म्यादमा पनि निमार्ण कार्य नसकिएपछि निर्माण कम्पनीले फेरि म्याद थपका लागि सडक विभागसँग म्याद थप गर्न प्रस्ताव समेत गरेको थियो । विभागले निमार्ण अवधिको म्याद नथपेपछि कम्पनीले बजेटको ०.०५ प्रतिशतले दैनिक ८८ हजार रुपैयाँ हर्जना तिर्नुपर्ने भएको छ । परियोजना सम्पन्न भएपछि ठेक्का पाएको रकमबाट कम्पनीले तिर्नुपर्ने हर्जना कटाएर मात्रै कम्पनीलाई रकम दिइने सूचना अधिकारी भण्डारीले बताए ।

सडक विभागले निमार्ण अवधिको म्याद थप नगरिदिएकाले हर्जना तिर्नुपर्ने भएको कम्पनीको गुनासो छ । तर, भण्डारीले भने निमार्ण कम्पनीले समयमै काम नसक्नुको कुनै ठोस कारण देखाउन नसकेकाले विभागले म्याद नथपेको जानकारी दिए ।

निर्माण कम्पनीले भने आफूहरूले पेस गरेको फ्लाइओभरको डिजाइन स्वीकृत गर्न विभागले समय लगाएको र परियोजनामा पूर्वानुमान नगरिएका कामहरू गर्नु परेकाले निर्माणमा ढिलाई भएको बताउँदै आएको छ ।

ग्वार्को फ्लाइओभर निर्माणमा अनुभवी जनशक्ति नहुँदा पनि समयमै सम्पन्न नभएको भण्डारीको भनाई छ । ‘यो परियोजना नेपालको लागि नयाँ हो, त्यसैले पनि सम्पन्न गर्न समय लागेको हो, यो परियोजनाका गल्तीहरू सुधार तथा स्वीकृत हुँदै भइरहेको छ, हाम्रो लागि यो परियोजना एउटा पाठ जस्तै भयो,’ उनले भने ।

निर्माण कम्पनीका अनुसार अहिलेसम्म फ्लाइओभर बनाउँदा अहिलेसम्म करिव ४४ करोड खर्च भइसकेको परियोजना प्रबन्धक श्रेष्ठले केन्द्रबिन्दुलाई बताएका छन् । निमार्ण कम्पनीले आफ्नै खर्च हालेर परियोजना सम्पन्न गर्नुपरे पनि बजेट भने नबढ्ने विकास केन्द्रको भनाई छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours