अचलासप्तमीको महत्व !

पं – बालमुकुन्द देवकोटा

२२ माघ, काठमाडाैँ । मिति २०८१ साल माघ २२ गते मंगलबार उत्तरायण, शिशिर ऋतु अन्तर्गत माघ शुक्ल सप्तमी तिथि २३ गते प्रात: ५ / १५ बजेसम्म त्यस उप्रान्त अष्टमी तिथि आरम्भ हुने छ।यो सप्तमिलाई अचला सप्तमी, भानु सप्तमी, अर्क, रथ र पुत्र सप्तमीको नामले जान्न सकिन्छ।यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् ।यो दिन अचला सप्तमी तिथि हो ।यस दिनलाई रथसप्तमी पनि भनिन्छ।

सूर्य भगवान्को व्रतोपासना गर्नाले उत्तम फल प्राप्त हुने कुरा शास्त्रमा पाइन्छ ।यो सप्तमी तिथिमध्येको उत्कृष्ट तिथि हो ।यहि दिन सूर्य भगवान् रथमा प्रकट भई संसारमा प्रकाश प्रदान गरेको कथा भविष्य पुराणमा वर्णन पाइन्छ ।

आरोग्य कामना गर्नेले यो व्रत शुभ रहने छ ।गणिकाले जीवनमा दान नगरेको र आफ्नो अन्त्य समयको ख्याल गर्दै वशिष्ठ ऋषि कहाँ गएर सोधेकी थिइन।त्यसपछि ऋषिले यो दिन प्रात अचल जलमा गएर स्नान गरि दिप दान र पुण्य गर भनेको हुनाले ऋषिले बताए अनुसार व्रत गरि अन्त्यमा आफ्नो शरीर त्यागेकी थिइन्।त्यसपछि उनको शरीर दिव्य देह भएर इन्द्रको अप्सरा बनेकी थिइन्।यस व्रतले सात जन्मका पाप नष्ट हुन्छन् भनिएको छ ।

यो दिन विहान स्नान गरी सूर्य भगवानलाई अर्घ प्रदान गर्नाले रोगजन्य भय कम हुने शास्त्रीय मान्यता रहेको छ।सूर्य भगवानको व्रत धारण गर्दा तेल र नुनको प्रयोग गरिदैन ।यसैगरी यो दिन व्रत धारण गर्नाले सुख, शान्ति र समृद्धि प्राप्त हुने कुरा भविष्यपुराण बताइएको छ।अचलाको अर्थ नचल्ने भन्ने हुन्छ ।

विशेषत यसले वस्त्र विशेषको पनि प्रतिनिधित्व गर्दछ ।यहि दिन दोसल्ला, तिल, गुण सुन, गाई दान गर्नाले जीवनमा संकट भोग्नु पर्देन भनी बताइएको छ ।भगवान् श्रीकृष्णका पुत्र शाम्बले दुर्वासा ऋषिलाई अपमान गरेकाले पाएको श्रापस्वरूप शरीरमा कुष्ठ रोग उत्पन्न हुन्छ ।सो रोगबाट निवृत्तिका लागि भगवान् सूर्यको आराधना गरी अचला सप्तमीको व्रत धारण पश्चात् निको भएको कथा पुराणमा पाइन्छ ।भविष्य पुराणमा यसको विशेष महिमा बताइएको छ ।
पं – बालमुकुन्द देवकोटा

You May Also Like

More From Author

+ There are no comments

Add yours