१९ माघ, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने भएकाे छ । क्यानकाे बाेर्ड बैठकले उनीसँग सन् २०२३ मा भएको दुई वर्षको सम्झौता सकिएसँगै सम्झौता नवीकरण नगर्ने निर्णय गरेकाे हाे ।
चर्चा यसअघि नै चुलिएपनि निर्णय अहिले मात्र सार्वजनिक भएको हो ।
मोन्टी २०७९ माघ २३ गते नेपाली क्रिकेटको प्रमुख प्रशिक्षकमा अनुबन्धित भएका थिए । उनकाे आगमनले लिग–२ मा एकपछि अर्को हार व्यहोर्दै एकदिवसीय मान्यता गुमाउने अन्तिम अवस्थामा पुगेको नेपाल जाेगिएकाे थियाे । दुई महिनामै मोन्टीको नेतृत्वमा नेपाली क्रिकेटले आइसिसी विश्वकप लिग–२ मा खेलेका १२ मध्ये ११ खेल जित्दै सनसनी नै मच्चाएको थियो । यस्तो उपलब्धि नेपाली खेलाडी तथा समर्थकले कल्पनासम्म पनि गरेका थिएनन् । मोन्टीको आगमनसँगै नेपालले सन् २०२३ को एसिसी प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा यूएईलाई ७ विकेटले पराजित गर्दै पहिलो पटक एसिया कपमा छनोट भयो ।
साथै गत वर्ष नेपालले उनकै नेतृत्वमा घरेलु मैदानमा भएको आईसीसी टी–२० विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोट खेलमा यूएईलाई आठ विकेटले पराजित गर्दै एक दशकपछि टी–२० विश्वकपमा छनौट भएको थियो । अमेरिका र वेस्ट इन्डिजमा भएको आइसिसी टी–२० विश्वकपमा नेपालले अविश्वसनिय प्रदर्शन गर्दै दक्षिण अफ्रिका र बंगलादेशलाई आच्छु–आच्छु बनाएको थियो । अझ विशेष गरेर दक्षिण अफ्रिकाविरुद्ध नेपालले देखाएको प्रदर्शनी नेपाल र दक्षिण अफ्रिकाले कहिल्यै बिर्सने छैन । उक्त खेलमा नेपाल १ रनले मात्र हारेको थियो । यो जितपछि दक्षिण अफ्रिकाले फाइनलसम्म यात्रा तय गरेको थियो ।
+ There are no comments
Add yours