१८ माघ, काठमाडौं । जलवायु परिवर्तनविरुद्वको अभियानमा फिल्म ‘लाज शरणम’को निर्माता कम्पनी जेपीटी क्रिएसन र क्लोथिङ ब्राण्ड नोभेम्बरले हातेमालो गर्ने भएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सहकार्यबारे दुबै कम्पनीका प्रतिनिधिबीच लिखित सम्झौता भयो । जसअनुसार, नोेभेम्बर क्लोथिङ ब्राण्ड फिल्म प्रायोजकको रुपमा जोडिएको छ ।
फिल्मका निर्माता नवीन श्रेष्ठ र नोभेम्बर ब्राण्डको तर्फबाट केदार न्यौपानेले हस्ताक्षर गरे । ‘जलवायु परिवर्तन अहिलेको ज्वलन्त मुद्दा हो । हिमालमा हिउँ रित्तिएका छन् । बेमौसममै बाढीपहिरो र आगलागीका घटना भएका छन् । हामीले हाम्रो ब्राण्डमार्फत यसमा जनचेतना जगाउने कार्य गरिरहेका छौं ।’
न्यौपानेले अघि भने, ‘जनचेतना जगाउने र समाजमा परिवर्तन ल्याउन फिल्म सशक्त माध्यम हो । यसमा पनि लाज शरणम अहिलेको प्रतीक्षित फिल्म हो । यसले वर्तमान परिप्रेक्ष्यलाई फिल्ममा चित्रण गरेको छ’ न्यौपानेले पत्रकार सम्मेलनमा भने, ‘फिल्ममार्फत परिवर्तन ल्याउन सकिन्छ भन्नेमा आशावादी छौं ।’

जेपिटी क्रिएसनका प्रमुख तथा कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले जलवायु परिवर्तनजस्तो अहिलेको वातावरणीय सन्देश जाने थिम मनपरेकोले नोभेम्बर क्लोथिङ ब्राण्डसँग सहकार्य गरेको बताए ।
‘लाज शरणम’ निर्देशक कुमार कट्टेल ‘जिग्री ब्रो’ले व्यवसायिक ब्राण्डले जलवायु परिवर्तनविरुद्धको एजेन्डालाई आत्मसात गरेकोमा आफूहरू खुसी बनेको बताए । ‘पूर्णबहादुरको सारंगी’को कीर्तिमानी ब्यापारले नेपाली फिल्मको बजारलाई विस्तार गरेको र सम्भावना देखाएको उनले बताए ।
‘राम्रो ब्राण्डसँग जोडिन सके यसले गुणस्तरीय फिल्म बनाउन मद्दत पुग्छ । नेपाली उत्पादक ब्राण्डसँग नेपाली फिल्मको सहकार्य जरुरी छ’ निर्देशक कट्टेलले भने ।

उक्त अवसरमा नेपाली फुटवेयर कम्पनी ‘रन’सँग पनि ‘लाज शरणम’ले ब्राण्ड सम्झौता गरेको छ । निर्माता नवीन श्रेष्ठ र ‘रन’का प्रमुख रुद्र न्यौपानेले सम्झौतामा हस्ताक्षर गरे । ‘रन’का प्रमुख न्यौपानेले नेपाली उत्पादनलाई दिगो बनाउन प्रयास भएको बताउँदै मान्छेले हेर्न र सुन्न सक्ने तरिकाले फिल्म ‘लाज शरणम’ बनेको बताए ।
फागुन १४ गते शिवरात्रीमा रिलिज तयारीमा रहेको फिल्मले सामाजिक र राष्ट्रिय मुद्दालाई उठान गरेको जनाइएको छ । पत्रकार सम्मेलनमा निर्देशक कट्टेल र कलाकार समेत रहेका पाँडे, महेश त्रिपाठी, सागर लम्साल बले, छायांकार सुदीप बराल लगायत ब्राण्ड प्रतिनिधि सहभागि थिए ।
+ There are no comments
Add yours