१८ माघ, काठमाडौं । नेपाल-भारत रंग महोत्सव काठमाडौंमा आयोजना हुने भएको छ । सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै माघ २३ देखि ३० सम्म महोत्सव हुने जनाएको हो ।
राष्ट्रिय नाट्य विद्यालय भारतसँगको सहकार्यमा महोत्सव राष्ट्रिय नाचघरमा हुन लागेको प्रतिष्ठानकी कूलपति निशा शर्माले जानकारी दिइन् । महोत्सवमा नेपाल र भारतका ६ नाटक मंचन हुने जनाइएको छ ।
शर्मामा अनुसार नेपालका तीन र भारतका तीन नाटक मञ्चन हुनेछन् । उक्त महोत्सव भारतमा हुँदै आएको छ । भारत र नेपालको सहकार्यमा पहिलोपटक नेपालमा महोत्सव हुन लागेको हो ।
महोत्सवमा माघ २३ गते सिके लालको लेखन र सुनिल पोखरेलको निर्देशन रहेको नाटक ‘गच्छामी’ प्रदर्शन हुनेछ । माघ २४ गते नयनराज पाण्डेको लेखन र दिया मास्केको निर्देशन रहेको नाटक ‘कथा कस्तुरी’ तथा माघ २७ गते संयोजक गुरागाईँको लेखन तथा नम्रता केसीको निर्देशन रहेको नाटक ‘जुन परिकथा मात्र होइन’ प्रदर्शन हुनेछ ।
माघ २८ गते विजयदन देथाको लेखन तथा अजयकुमारको निर्देशन रहेको भारतीय नाटक ‘माई री मैं का से कहूँ’, माघ २९ गते मिथिलेश्वरको लेखन तथा राजेश सिंहको निर्देशन रहेको भारतीय नाटक ‘बाबुजी’ र माघ ३० गते अजय शुक्लको लेखन र चितरञ्जन त्रिपाठीको निर्देशन रहेको भारतीय नाटक ‘ताजमहलका टेन्डर’ प्रदर्शन हुने उल्लेख छ ।
+ There are no comments
Add yours