‘पारी त्यो डाँडामा’को नयाँ भर्सन रिलिज, विनय र सुपुष्पा फिचर्ड

१८ माघ, काठमाडौं । २०७२ सालको भाइरल गीत ‘पारी त्यो डाँडामा’को नयाँ भर्सन ‘फेरि जालमा’ रिलिज भएको छ । प्रदर्शन तयारीमा रहेको फिल्म ‘फेरि रेशम फिलिली’मा यो गीत समावेश गरिएको छ ।

फिल्मको अघिल्लो श्रृंखला ‘रेशम फिलिली’मा उक्त गीत सामेल थियो । लगभग उस्तै कम्पोज र लयमा ल्याइएको नयाँ भर्सन पनि कर्णप्रिय र नृत्यप्रधान लाग्छ । कालीप्रसाद बाँसकोटाको संगीत रहेको गीतमा मानस राजका शब्द छन् । गायनमा बासकोटालाई सोमिया बराइलीले साथ दिएकी छन् ।

शीर्ष कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्टसहित कोरस डान्सर गीतमा फिचर्ड छन् । फिल्मको प्रवद्र्धनमा गीतले मद्दत पुर्‍याउने विश्वास निर्माताले लिएका छन् । गीतमा प्रवीण लामाको नृत्य निर्देशन, रिकेश गुरुङको निर्माण छ । बुढासुब्बा डिजिटल युट्युव च्यानलबाट गीत रिलिज भएको हो ।

सिनेमा आर्ट र भी-मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्मका लेखक तथा निर्देशक निरोज महर्जन हुन् । रौनकविक्रम कँडेल निर्माता रहेको फिल्ममा कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सहनिर्मातामा एनी थापा छन् ।

‘फेरि रेशम फिलिली’ फागुन १४ गते प्रदर्शन तयारीमा छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours