१६ माघ, काठमाडौं । दोस्रो ई-स्पोर्ट्स नेसनल च्याम्पियनसिपको क्वालिफायर राउण्डका खेलहरु सुरु भइसकेको छ ।
ई-स्पोर्ट्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा हुने दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनमा कूल ६ विधा समावेश छ । त्यसमा सबैन्दा आकर्षक र चर्चित विधाको रुपमा पब्जी मोबाइल विधा रहेको छ ।
विश्वस्तरमै नेपालको पब्जी टिमले उत्कृष्ट प्रदर्शन गरिसकेको अवस्थामा नेपालका पब्जी खेलाडीहरु पनि चर्चित छन् । यस पटक ई-स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिपमा कूल २५ लाख पुरस्कार राशी मध्ये १० भन्दा बढी पुरस्कार पनि पब्जी मोबाइलकै लागि छ ।
पब्जी मोबाइलका लागि कूल १०३७ टिमले नाम दर्ता गराएका छन् । यसमा खेलाडी र व्यवस्थापक गरेर करिब ६ हजार भन्दा बढी हुन्छन् । पब्जीमा हरेक टिममा ४ जना मुख्य खेलाडी हुनेछन् भने १ अतिरिक्त खेलाडी र १ म्यानेजर हुनेछन् ।
नेपाली पब्जी क्षेत्रमा चर्चित रहेका ८ टिमलाई भने आयोजकले सिधै विभिन्न राउण्डमा इन्भिटेसन गरेको छ । जसमा ४ टिमलाई राउण्ड अफ ६४ मा इन्भाइट गरेको छ भने दुई टिमलाई राउण्ड अफ ३२ र दुई टिमलाई प्लेअफ (२४ टिम) मा इन्भाइट गरेको छ ।
पब्जीको नेसनल क्वालिफायरमा स्लट रहेको टीटुके र रोएल ड्र्यागनलाई सिधै राउण्ड अफ ६४ मा इन्भाइट गरिएको हो । यसैगरी अहिले भइरहेको होरा सोडाउन पब्जीको प्रतिस्पर्धाबाट शीर्ष दुई स्थानमा रहने टोलीलाई पनि सिधै राउण्ड अफ ६४ मा इन्भाइट गरिएको आयोजकले जनाएको छ ।
यस्तै गत वर्ष सुर्खेतमा भएको पहिलो संस्करणको विजेता होइन् इस्पोर्ट्स र बागमती च्याम्पियनसिपको विजेता लियो इस्पोर्ट्सलाई सिधै राउण्ड अफ ३२ मा इन्भाइट गरिएको हो । पहिलो संस्करण जित्दा एचकेमर्डर्सर नाम रहे पनि अहिले नाम परिवर्तन गरेर हइन स्पोर्ट्स बनाइएको हो ।
यस्तै नेपाली पब्जी क्षेत्रमा चर्चित दुई टिम होरा इस्पोर्ट्स र डिआरएस गेमिङलाई सिधै प्लेअफमा इन्भाइट गरिएको छ । उनीहरुले २४ टिम रहने प्लेअफमा सिधै प्रतिस्पर्धा गर्न पाउनेछन् । पहिलो पीएमजिसीमा खेलिसकेको भएकोले होरा र डिआरएसलाई सिधै प्लेअफमा इन्भाइट गरिएको आयोजकले जनाएको छ ।
पब्जीतर्फ अन्तिम चरणमा १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । उनीहरुले भौतिक रुपमा उपस्थित भएर प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा सबै विधाका क्वालिफायर र प्लेअफका खेलहरु अनलाइनमा हुनेछ भने अन्तिम चरणको खेल मात्र भौतिक रुपमा (ल्यान इभेन्ट) हुनेछ ।
अन्तिम चरणको खेल आगामी फागुन ८ देखि १० गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालको कभर्डहलमा आयोजना गरिनेछ ।
पब्जी मोबाइल सबैभन्दा चर्चित विधाको रुपमा छ र यसमा कूल १० लाख १० हजार पुरस्कार राशी राखिएको छ । जसमा विजेताले नगद २ लाख ५० हजार पाउनेछन् ।
यस्तै दोस्रोले १ लाख ८० हजार तथा तेस्रोले १ लाख २० हजार पाउनेछन् भने अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने १६ वटै टिमले नगद पुरस्कार पाउनेछन् । यस विधामा एमभीपीले पनि नगद पुरस्कार पाउनेछन् ।
+ There are no comments
Add yours