१६ माघ, काठमाडौँ । नेपाल वायुसेवा निगमको न्यारोबडी विमानलाई विस्तृत मर्मतसम्भार (सी–चेक) का लागि माघ २० गते चीन पठाइने भएको छ ।
जहाजको चेकजाँच र हरेक दुई वर्षमा हुने विस्तृत मर्मतसम्भारका लागि विमान चीन पठाउन लागिएको हो । निश्चित घण्टा, समयचक्र, पार्टपुर्जाको अवधि र उडान अवतरण अवधिका आधारमा विमानलाई विस्तृत मर्मतसम्भार गर्नुपर्ने हुन्छ ।
उडान चक्र (साइकल) पूरा भएको ९एन–एकेडब्लु कलसाइनको विमान पुस २० गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ अवस्थामा छ ।
निगमका प्राविधिक मनोजकुमार शाहले भन्नुभयो, “न्यारोबडीलाई सी–चेकका लागि चाइना साउदर्नसँग भएको सम्झौता अनुसार आइतबार (माघ १३ गते) नै जहाज त्यसतर्फ पठाउने तयारी रहेको थियो । चिनियाँ नयाँ वर्षका कारण माघ २० गते जहाज चीन उड्ने तयारी छ ।”
हरेक १८ देखि २४ महिनामा गरिने नियमित चेकजाँच अन्तर्गत जहाजको प्राविधिक पक्ष, उडान प्रणाली, संरचना र सामग्रीको विस्तृत परीक्षणका लागि निगमले चाइना साउदर्नलाई एमआरओ ( मेन्टेनेन्स, ओभरहल, अर्गनाइजेसन) छनोट गरेको उहाँले जानकारी दिनुभयो । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमोदन प्राप्त भइसकेको उहाँले बताउनुभयो ।
सी–चेकका क्रममा विमानको बाहिरी संरचनादेखि फ्लाइट कन्ट्रोल, इन्जिन, ल्यान्डिङ गियर, इलेक्ट्रिक्ल सिस्टम परीक्षण हुने गर्छ । चाइना साउदर्नसँगको सम्झौता अनुसार जहाज १५ दिनभित्र नेपाल फर्किने छ । यसअघि ३० दिनभित्र सी–चेक सक्ने गरी इटाली पुर्याइएको निगमको वाइडबडी ए–३३० जहाज दुई महिनापछि नेपाल फर्किएको थियो ।
+ There are no comments
Add yours