काभ्रेमा अन्तर्राष्ट्रियस्तरको फेसन रन-वे हुने, चौंथो मिस्टर एन्ड मिस नेसनल घोषणा

१५ माघ, काठमाडौं । ‘मिस्टर एन्ड मिस नेसनल नेपाल’को चौथो संस्करण आयोजना हुने भएको छ । आयोजित पत्रकार सम्मेलनमा चौथो संस्करणको घोषणासहित अडिसनबारे जानकारी दिइएको हो ।

सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा मिस्टर एन्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्यायले चौंथो संस्करणसम्म आइपुग्दा निकै खुसी लागेको बताए ।

‘सन् २०२२ देखि हामीले यो प्रतियोगिता सुरुवात गरेका थियौं । चौथो संस्करणसम्म आइपुग्दा निकै खुसी लागिरहेको छ । यहाँसम्म जोडिनुभएका सम्पूर्णलाई धन्यावाद । हामीले लामो समयको लागि सोचेका छौं,’ उपाध्यायले भने ।

अडिसन फेब्रुअरी १५ अर्थात फागुन ३ गतेबाट सुरु हुने जनाइएको छ । मार्च २ सम्म काठमाडौं उपत्यकासहित विराटनगर, पोखरा, इटहरी, चितवन, नेपालगञ्ज र धनगढीमा अडिसन हुनेछ ।

काठमाण्डौँमा हुने अडिसनमा भने मिस ग्लोबकी विजेता डायना आउनेछिन् । उनले फ्रेबुअरी ११ देखि १६ सम्म हुने अडिसनमा जजको रुपमा सहभागिता जनाउनेछिन् ।

प्रतियोगिताले वर्ल्ड युथ फेस्टिभलसँग सहकार्य गर्दै काभ्रेपलाञ्चोकमा अन्तर्राष्ट्रिय स्तरको फेसन रन-वे शो पनि गर्दैछ, जुन जलवायु परिवर्तनको जनचेतनाको विषयमा केन्द्रित हुनेछ ।

मिस्टर एन्ड मिस नेसनलभित्र मिस सुप्रा नेसनल, मिस ग्लोब नेपाल, मिस्टर सुप्रा नेसनल, मिस इन्टरकन्टिनेन्टल, मिस्टर इन्टरनेसनल, मिस्टर टुरिजम वर्ल्ड विधाका प्रतिस्पर्धा छन् ।

यसअघि ‘मिस्टर एण्ड मिस नेसनल २०२४’ प्रतियोगितामा सजिना खनाल मिस सुप्रा नेसनल र धीरजकाजी बस्नेत मिस्टर सुप्रा नेसनल बनेका थिए । मिस ग्लोब नेपाल मोनिका अधिकारी, मिस इन्टरकन्टिनेन्टल नेपाल आयुषनोभा ढुंगाना, क्षितिज श्रेष्ठ क्षेत्री मिस्टर इन्टरनेसनल नेपाल र मिलन भट्टराई मिस्टर टुरिजम वल्र्ड भएका थिए ।

पोल्याण्डमा भएको मिस्टर सुप्रा नेसनलमा धीरजकाजी बस्नेत टप २०, मिस सुप्रा नेसनलमा सजिना खनाल इन्फुलुएन्सर विधाको टप ६ मा पुगेकी थिइन् ।

अल्बेनियामा आयोजित मिस ग्लोबमा मोनिका अधिकारीले टप १५ स्थान हासिल गरिन् । इजिप्टमा भएको मिस इन्टरकन्टिनेन्टलमा आयुष्नोभा र थाइल्याण्डमा भएको मिस्टर इन्टरनेसनलमा क्षितिज श्रेष्ठ क्षेत्रीले प्रतिनिधित्व जनाएका थिए । फ्रेबुअरी १० मा भियतनाममा हुने मिस्टर टुरिजम वर्ल्डका लागि मिलन भट्टराई नेपालबाट सहभागी हुँदैछन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours