जापानको ओसाकाद्वारा एक्स्पो २०२५ अगाडि सडकमा धुम्रपान गर्न प्रतिबन्ध

१४ माघ, काठमाडौं। यस वर्षको विश्व एक्सपोअघि थप आगन्तुक–मैत्री बन्ने प्रयासको एक हिस्साका रूपमा जापानी सहर ओसाकाले सोमबार सार्वजनिक सडकहरूमा धुम्रपानमा प्रतिबन्ध लगाएको छ । एक्सपो २०२५ मा लगभग १६० देश र क्षेत्रहरूले भाग लिइरहेका छन् । यो प्रत्येक पाँच वर्षमा विभिन्न विश्वव्यापी स्थानहरूमा आयोजित कार्यक्रमको नवीनतम संस्करण हो ।

“विश्व एक्सपो अप्रिलमा सुरु हुँदैछ । हामी संसारभरका धेरै मानिसलाई स्वागत गर्न चाहन्छौँ, त्यसैले हामी ओसाकालाई यस्तो सहर बनाउन चाहन्छौँ जहाँ मानिसहरूले धुवाँमुक्त सडकहरूमा सुरक्षित महसुस गर्छन्”, मेयर हिदेयुकी योकोयामाले जनवरीको सुरुमा भने ।

सोमबारअघि ओसाका स्टेसन वरपरका क्षेत्रसहित छ वटा क्षेत्रमा धुम्रपानमा प्रतिबन्ध लगाइएको थियो । यो सम्पूर्ण सहरमा विस्तार गरिएको छ र उल्लङ्घनकर्ताहरूलाई एक हजार येन (६.४० डलर) जरिवाना लाग्नेछ ।

स्थानीय नियमहरूले पहिले नै जापानका धेरैजसो स्थानमा हिँड्दा धुम्रपान गर्न प्रतिबन्ध लगाएका छन् तर केही सांसदहरूको विरोधले कडा राष्ट्रिय कानूनहरू बन्न रोकेको छ । अप्रिलदेखि विस्तृत ओसाका क्षेत्रले ३० वर्गमिटर (३२० वर्गफिट) भन्दा ठूलो बस्ने क्षेत्र भएका भोजनालयहरूमा धुम्रपान गर्न प्रतिबन्ध लगाउनेछ । यद्यपि धुम्रपान कक्ष जस्ता छुट्टै स्थानमा धुम्रपान गर्न अनुमति दिइएको छ ।

हालको राष्ट्रिय कानूनले एक सय वर्गमिटर भन्दा बढीको भोजन क्षेत्र भएका प्रतिष्ठानहरूमा धुम्रपान गर्न प्रतिबन्ध लगाउँछ । एक्सपो २०२५ ले ढिलो टिकट बिक्री र निर्माण बजेटमा सार्वजनिक चिन्ताका साथ सङ्घर्ष गरिरहेको छ ।

छ महिने कार्यक्रमका लागि जनवरीको सुरुसम्म लगभग ७५ लाख टिकट बिक्री भएको थियो । यो आयोजकहरूको लक्ष्यको आधा हो । टोकियो ओलम्पिकको तयारीका लागि सन् २०१८ मा राजधानीले सबै रेस्टुरेन्टमा धुम्रपान निषेध गरेको थियो । टोकियोका केही जिल्लामा बाहिर धुम्रपान गर्न अझै अनुमति छ ।

जापानको केन्द्रीय र स्थानीय सरकारहरूले चुरोट करबाट वार्षिक लगभग २० खर्ब येन ९१३ अर्ब डलर० कमाउँछन् । विश्वको तेस्रो ठूलो सुर्तीजन्य कम्पनी जापान टोबाकोमा पनि राष्ट्रिय सरकारको एक तिहाइ हिस्सा छ । व्यापक विश्वव्यापी प्रवृत्तिसँगै जापानमा सुर्तीजन्य पदार्थको प्रयोग घट्दै गएको छ । सन् २०२३ मा धूम्रपान गर्नेहरूको अनुपात १५ दशमलव सात प्रतिशत रहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours