ई-स्पोर्ट्स नेसनल च्याम्पियनसीपमा ११ हजार बढीले गरे नाम दर्ता

१३ माघ, काठमाडौं । ई-स्पोर्ट्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा हुने दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसीपका लागि उल्लेख्य संख्यामा नाम दर्ता भएको छ ।

च्याम्पियनसीपका विभिन्न ६ विधाका लागि ११ हजार भन्दा बढी खेलाडीले नाम दर्ता गराएको नेपाल प्लेजका एमडी उज्जेनलाल श्रेष्ठले जानकारी दिए । ६ विधामा खेलाइने च्याम्पियनसीपमा ११ हजार भन्दा बढी खेलाडीले नाम दर्ता गराएको श्रेष्ठले जानकारी दिए ।

दोस्रो इ-स्पोर्ट्स नेसनल च्याम्पियनसीपमा पब्जी मोबाइल, ई-फुटबल, मोबाइल लिजेण्ड्स, डोटा टू, भ्यालोरेन्ट र कस प्ले विधामा प्रतिस्पर्धा गराइनेछ । जसमा ई-फुटबलमा २ हजार ५१९ जनाले नाम दर्ता गराएका छन् ।

यसैगरी पब्जी मोबाइलमा १ हजार ३९ टिम, मोबाइल लेजेण्ड्समा २८१ टिम, भारोलेरेन्टमा ६६ टिम, डोटा टु मा ५८ टिमले नाम दर्ता गराएको श्रेष्ठले बताए । कसप्ले विधामा भने अझै दर्ता खुल्ला नै राखिएको छ ।

नेपाल प्लेजका एमडी श्रेष्ठका अनुसार सबै विधामा गरेर ११ हजार पाँच सय भन्दा बढी खेलाडीले नाम दर्ता गराएका छन् । त्यसमा टिमको रुपमा गणना गर्दा भने ४ हजार भन्दा बढी टिम हुनेछ ।

च्याम्पियनसीपको क्वालिफायर राउण्डका खेलहरु सोमबारदेखि सुरु हुनेछन् । क्वालिफायरका खेलहरु माघ १४ देखि १८ गतेसम्म (जनवरी २७-३१) सम्म हुनेछ । यसैगरी समूह चरण र प्लेअफका खेलहरु माघ २० देखि फागुन २ गतेसम्म (फेब्रुअरी २-१४) सम्म हुनेछ ।

क्वालिफायर र प्लेअफका खेलहरु अनलाइनमा हुनेछ भने अन्तिम चरणको खेल मात्र भौतिक रुपमा (ल्यान इभेन्ट) हुनेछ । च्याम्पियनसीपको अन्तिम चरणको खेल भने आगामी फागुन ८ देखि १० गतेसम्म भौतिक रुपमै आयोजना गरिनेछ । अन्तिम चरणको तीन दिनको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालको कभर्डहलमा आयोजना गरिने इशानका अध्यक्ष अन्जन धमलाले जानकारी दिए ।

अन्तिम चरणमा पब्जीतर्फ १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । पब्जीमा हरेक टिममा ४ जना मुख्य खेलाडी हुनेछन् भने १ अतिरिक्त खेलाडी र १ म्यानेजर हुनेछन् । यसैगरी मोबाइल लेजेण्ड्समा २ टिमले अन्तिम चरणमा प्रतिस्पर्धा छन् । यसमा हरेक टिममा ५ जना खेलाडी हुनेछन् भने एक अतिरिक्त खेलाडी र १ म्यानेजर हुनेछन् ।

ई फुटबलमा अन्तिम चरणमा ३२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी डोटा टू र भ्यालोरेन्टमा ४-४ टिमले अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् । कस प्लेमा भने कुनै लिमिटेसन राखिएको छैन । उनीहरुले फेसन सो शैलीमा स्टेजमा डेमो देखाउनेछन् ।

च्याम्पियनसीपको कुल पुरस्कार राशी २५ लाख रहेको छ । जसबाट ६ विधाको विजेता तथा उपविजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरिनेछ । हरेक इभेन्टको पुरस्कार राशी फरक हुनेछ ।

जसमा पब्जी मोबाइल सबैभन्दा चर्चित विधाको रुपमा छ र यसमा कूल १० लाख १० हजार पुरस्कार राशी राखिएको छ । जसमा विजेताले नगद २ लाख ५० हजार पाउनेछन् । यस्तै दोस्रोले १ लाख ८० हजार तथा तेस्रोले १ लाख २० हजार पाउनेछन् भने अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने १६ वटै टिमले नगद पुरस्कार पाउनेछन् । यस विधामा एमभीपीले पनि नगद पुरस्कार पाउनेछन् ।

यस्तै मोबाइल लेजेण्ड्समा ५ लाख २० हजार पुरस्कार राशी रहेको छ । जसमा विजेताले १ लाख ८२ हजार हात पार्नेछन् भने उपविजेताले १ लाख ४ हजार पाउनेछन् । यसमा शीर्ष ८ मा रहनेले नगद पुरस्कार प्राप्त गर्नेछन् । यस विधामा पनि एमभीपीले नगद पुरस्कार पाउनेछन् ।

भ्यालोरेन्टमा ३ लाख, इ फुटबलमा २ लाख १० हजार, डोटा टु मा २ लाख र कस प्लेमा १ लाख ५० हजार पुरस्कार राशी रहेको आयोजकले जनाएको छ ।

भ्यालोरेन्ट र डोटा टु को विजेताले समान १ लाख ५ हजार हात पार्नेछन् भने इ फुटबलमा विजेताले ९० हजार र कस प्ले विजेताले ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

भ्यालोरेन्ट र डोटा टु मा पनि शीर्ष ८ मा रहनेले नगद पुरस्कार पाउनेछन् भने इ फुटबल र कसप्लेमामा शीर्ष चारमा रहनेले नगद पुरस्कार पाउनेछन् । मोस्ट पपुलर कसप्लेअरले पनि नगद पुरस्कार पाउनेछन् ।

पछिल्लो समय नेपालमा इ-स्पोर्ट्स खेलको गतिविधि बढिरहेको र नेसनल च्याम्पियनससिपको दोस्रो संस्करणमै ठूलो माहोल बनेको इशानका अध्यक्ष अन्जन धमलाले बताए ।

अन्तिम चरणको खेललाई रोमाञ्चक र आकर्षक तरिकाले आयोजना गर्ने तयारी भइरहेको नेपाल प्लेजका एमडी उज्जेनलाल श्रेष्ठले जानकारी दिए ।

च्याम्पियनसीपका लागि तयारी गरिरहेका लियो इस्पोर्ट्सका सदस्य प्रवेश गुरुङ उर्फ हैत दामीले यसका लागि एकदमै उत्साहित रहेको बताएका छन् । उनको टिमले पब्जी मोबाइलमा प्रतिस्पर्धा गर्नेछ । ‘यस पटक दशरथ रंगशालमै फाइनल इभेन्ट हुने भएकोले हामी एकदमै उत्साहित छौँ ।’

सुर्खेतमा भएको पहिलो संस्करणमा लियो इ स्पोर्टस उपविजेता बन्दा हैत दामी एमभीपी बनेका थिए । यस पटक टिमलाई च्याम्पियन बनाउने लक्ष्य रहेको उनले बताए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours