भन्सार प्रशासनलाई निजी क्षेत्र मैत्री र सेवाग्राही अनुकूल बनाउन सक्नुपर्छ : चन्द्रप्रसाद ढकाल

१३ माघ, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भन्सार प्रशासनलाई निजी क्षेत्र मैत्री र सेवाग्राही अनुकूल बनाउन सक्नुपर्नेमा जोड दिएका छन् ।

भन्सार विभागले आज आयोजना गरेको ७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा अध्यक्ष ढकालले भन्सार जाँचपासका क्रममा प्रक्रियागत झन्झट हटाइनुपर्ने, कर्मचारीको तजबिजी अधिकार हटाइनुपर्ने, प्रविधिको प्रयोगमा जोड दिनुपर्नेलगायत सुझाव ढकालले दिए ।

“अर्थतन्त्र चलायमान हुँदा राजस्व आफैँ बढ्ने भएकाले सरकारले स्वच्छ र प्रतिस्पर्धी व्यवसाय प्रबद्र्धनमा जोड दिनुपर्छ । भन्सार दर उच्च हुँदा खुला सीमानाबाट चोरी पैठारी बढेको छ । यसको असर राजस्वमा पनि परेको छ”, ढकालले भने, “जाँचपासका लागि अत्याधुनिक उपकरणको प्रयोग गर्ने, जाँचपास परीक्षणको समयसीमा घटाउने, कारोबार मूल्यका आधारमा जाँचपास गर्ने र सन्दर्भ मूल्य पुस्तिका हटाउनुपर्नेलगायत सुझाव निजी क्षेत्रले दिँदै आएको छ । यी विषयहरु सरकारले भन्सार ऐन संशोधन र आगामी आर्थिक वर्षको बजेट बनाउँदा सम्बोधन गर्नेछ भन्नेमा निजी क्षेत्र आशावादी छ ।” तयारी वस्तुभन्दा कच्चापदार्थमा एक तह कम भन्सार लगाइनुपर्ने व्यवस्था प्रभावकारी कार्यान्वयन हुन नसकेको अध्यक्ष ढकालले बताए ।त्यस्तै, उत्पत्तिको प्रमाणपत्रलाई पनि एकद्वार प्रणालीभित्र आबद्ध गरिनुपर्ने, एकीकृत भन्सार जाँचचौकी (आसिपी)को सङ्ख्या बढाइनुपर्ने, चोभार सुक्खा बन्दरगाहलाई बढी सक्रिय बनाउनुपर्ने लगायत सुझाव उनले दिए । सरकारले केहि समयअघि अध्यादेशबाट ल्याएका कानुनी व्यवस्थालाई निजी क्षेत्रले स्वागत गरेको र यसले नीतिगत र प्रक्रियागत झन्झट कम गर्न मद्दत पु¥याउने विश्वास उनले व्यक्त गरे।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले भन्सार प्रशासनको नीतिगत र व्यावहारिक सुधार आवश्यक रहेको बताए । भन्सार जाँचपासका क्रममा प्रयोग हुने सन्दर्भ मूल्य पुस्तिका हटाएर कारोबार मूल्यलाई नै आधार बनाएर जाँचपास गरिनुपर्ने उनको सुझाव छ । त्यस्तै, पछिल्लो समय चोरीपैठारी बढ्दा सीमा क्षेत्रका बजारको व्यापार घटेको तर सीमापारीका बजार बढेको उनले बताए। अन्तर्राष्ट्रिय अभ्यासअनुसार हार्मोनाइज्ड कोड (एचएस कोड) १० अङ्कको बनाइनुपर्ने र सबै भन्सार कार्यालयहरुमा सुविधासम्पन्न ‘क्वारेन्टाइन ल्याब’ निर्माण गरिनुपर्ने आवश्यकता उनले औँल्याए ।

नेपाल समुद्रपार निकासी पैठारी सङ्घका अध्यक्ष शिवकुमार अग्रवालले व्यापार सहजीकरणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको आवश्यकता औँल्याए । संसद्मा विचाराधीन भन्सार विधेयकमा निजी क्षेत्रको चासो सम्बोधन हुने र राजस्व परामर्श समितिमा सङ्घको प्रतिनिधित्व हुनुपर्नेमा उनले जोड दिए ।

अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा विभागले क्युआर कोडसहितको प्रज्ञापनपत्र र एक्जिम कोड प्रणाली कार्यान्वयनमा ल्याएको छ । त्यस्तै, विभागले भन्सार स्मारिका र परिपत्र सङ्ग्रह सार्वजनिक गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours