विशेषज्ञ चिकित्सक प्रोत्साहन सुविधाका लागि कोशी सरकारद्वारा जिल्लाको वर्गीकरण

१२ माघ, काठमाडाैं । विशेषज्ञ चिकित्सक प्रोत्साहन सुविधाका लागि कोशी सरकारले प्रदेशभरिका जिल्लाको वर्गीकरण गरेको छ। कोशी प्रदेशका नागरिकलाई गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न विशेषज्ञ चिकित्सक प्रोत्साहन कार्यविधि लागू गर्दै प्रदेश सरकारले प्रदेशभरीका जिल्लाहरूलाई चार वर्गमा वर्गीकरण गरेको हो।

कार्यविधि अनुसार ‘क’ वर्गमा ताप्लेजुङ र सोलुखुम्बु परेका छन्। ‘ख’ वर्गमा पाँचथर, भोजपुर, तेह्रथुम, संखुवासभा, ओखलढुङ्गा र खोटाङ परेका छन्। ‘ग’ वर्गमा धनकुटा, उदयपुर र इलाम पर्दा ‘घ’ वर्गमा झापा, मोरङ र सुनसरी परेका छन्। कार्यविधिमा प्रदेश सरकारबाट नयाँ संगठन संरचना स्वीकृत नहुँदासम्म भौगोलिक विकटता भएका एवम् दुर्गम जिल्लाका अस्पताल र विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालका हकमा दिइने विशेषज्ञ चिकित्सक प्रोत्साहन रकम पाउनेहरू समेत यकीन गरिएको छ।

जसअनुसार ताप्लेजुङ, तेह्रथुम, धनकुटा, ओखलढुङ्गा, सोलुखम्बु, खोटाङ र भोजपुरका लागि एकै दरका विशेषज्ञता भएकमा व्यक्तिले उक्त प्रोत्साहन रकम पाउने छन्। उल्लेखित जिल्ला अस्पतालहरूमा कार्यरत एमडीजिपी एकजना, पेडियाट्रिक्स एक, जनरल मेडिसिन एक, अब्स्ट्रटिक्स तथा गाइनोकोलोजी एक जनालाई विशेषज्ञ सरह प्रोत्साहन रकम उपलब्ध गराउन सकिने कार्यविधिमा उल्लेख गरिएको छ।

जिल्ला अस्पताल पाँचथर र उदयपुरको कटारी अस्पतालका लागि एमडीजिपी एक, पेडियाट्रिक्स एक, जनरल मेडिसिन एक, अब्स्ट्रटिक्स तथा गाइनोकोलोजीसहित जनरल सर्जरी एक र एनेन्सथेसियोलोजी एकजना समेतलाई प्रोत्साहन रकम उपलब्ध गराइने भएको छ। मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको हकमा एमडीजिपी एक, पेडियाट्रिक्स एक, जनरल मेडिसिन एक, अब्स्ट्रटिक्स तथा गाइनोकोलोजीसहित अर्थोपेडिक सर्जरी एक, रेडियोलोजी एक, एनेन्सथेसियोलोजी एक र जनरल सर्जरी एक समेतलाई प्रोत्साहन रकम उपलब्ध गराइने कार्यविधिमा उल्लेख गरिएको छ।

‘क’ वर्गमा परेका जिल्लाहरूको हकमा न्यूनतम् सेवा मापदण्ड अंक ८५ प्रतिशत वा सोभन्दा माथि भए आधारभूत तलवमानको तीन सय प्रतिशतसम्म, ७० देखि ८४ प्रतिशत भए आधारभूत तलवमानको २ सय २५ प्रतिशतसम्म र ५० देखि ६९ प्रतिशतसम्म भए आधारभूत तलवमानको १ सय ५० प्रतिशतसम्म प्रोत्साहन भत्ता उपलब्ध गराउन सकिने कार्यविधिमा उल्लेख गरिएको छ।

‘ख’ वर्गमा परेका जिल्लाहरूको हकमा न्यूनतम् सेवा मापदण्ड अंक ८५ प्रतिशत वा सोभन्दा माथि भए आधारभूत तलवमानको दुई सय प्रतिशतसम्म, ७० देखि ८४ प्रतिशत भए आधारभूत तलवमानको १ सय ५० प्रतिशतसम्म र ५० देखि ६९ प्रतिशतसम्म भए आधारभूत तलवमानको सतप्रतिशतसम्म प्रोत्साहन भत्ता उपलब्ध गराउन सकिने भएको छ।

‘ग’ वर्गमा परेका जिल्लाहरूको हकमा न्यूनतम् सेवा मापदण्ड अंक ८५ प्रतिशत वा सोभन्दा माथि भए आधारभूत तलवमानको एक सय प्रतिशतसम्म, ७० देखि ८४ प्रतिशत भए आधारभूत तलवमानको ७५ प्रतिशतसम्म र ५० दखि ६९ प्रतिशतसम्म भए आधारभूत तलवमानको पचास प्रतिशतसम्म प्रोत्साहन भत्ता उपलब्ध गराउन सकिने भएको छ।

‘घ’ वर्गमा परेका जिल्लाहरूको हकमा न्यूनतम् सेवा मापदण्ड अंक ८५ प्रतिशत वा सोभन्दा माथि भए आधारभूत तलवमानको पचास प्रतिशतसम्म, ७० देखि ८४ प्रतिशत भए आधारभूत तलवमानको ३५ प्रतिशतसम्म र ५० दखि ६९ प्रतिशतसम्म भए आधारभूत तलवमानको २५ प्रतिशतसम्म प्रोत्साहन भत्ता उपलब्ध गराउन सकिने भएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours