सशस्त्रको यूएन मिसन थप गर्न पहल भइरहेको छ : गृहमन्त्री लेखक

०९ माघ, काठमाडौं । सशस्त्र प्रहरी बललाई संयुक्त राष्ट्र संघ (यूएन) को शान्ति मिसन थप गर्न पहल भइरहेको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।

२४ औं सशस्त्र प्रहरी स्थापना दिवसको अवसरमा सशस्त्रको प्रधान कार्यालय हल्चोकमा भएको कार्यक्रममा मन्त्री लेखकले शान्ति मिसनमा सशस्त्र प्रहरीको संख्या थप गर्नेबारे पहल भइरहेको बताए ।

‘अघिल्लो पटक मालीको शान्ति मिसनमा जान ठिक्क परेको सशस्त्र प्रहरी विविध कारण यूएनले मिसन कटौती गरेपछि रोकिएको थियो । यसबारे फेरि थप पहल भइरहेको छ । राष्ट्र संघका पदाधिकारीको भेटमा यसमा विषयमा मैले कुरा समेत उठाएको थिएँ । सकारात्मक प्रयास भएको छ,’ मन्त्री लेखकले भने ।

त्यसैगरी मन्त्री लेखकले सशस्त्र प्रहरीले राजश्व चुहावट नियन्त्रण तथा तस्करी नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै प्रशंसा गरेका थिए । कानुनी अधिकारभित्र रहेकाले निर्धक्क भएर काम गर्न उनले सशस्त्र प्रहरीलाई निर्देशन समेत दिएका छन् ।

त्यसैगरी सशस्त्र प्रहरी विधेयक तयार भएर संसदमा पेश हुने अवस्थामा रहेको बताउँदै तल्लो दर्जाको गुनासो सम्बोधन हुनेगरी १६ वर्षमै पेनसन पाक्ने व्यवस्था मिलाउन लागिएको बताएका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी प्रमुख राजु अर्यालले ऐन, नियमावलीको अधिनमा रहेर राजश्व चुहावट नियन्त्रणदेखि विपद् उद्धारमा समेत दिनरात खटिँदै आएको बताएका थिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours