सहमति नजुट्दा अखिल क्रान्तिकारीमा पार्टी नेता अनुसारका उम्मेदवार

०९ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि सहमति जुट्न नसकेपछि पार्टीको धार अनुसार उम्मेदवारी परेको छ । अध्यक्षका लागि सात जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कुनै उम्मेदवार नदेखिए पनि दोस्रो तहका नेताहरुले अघोषित प्यानल बनाएर विद्यार्थी नेताहरूलाई भिडाएका छन् । मंगलबार भएको उम्मेदवार मनोनयन दर्तामा पार्टी उपाध्यक्ष र उपमहासचिव नेता नजिकका विद्यार्थी नेताहरू प्यानल सहित प्रतिस्पर्धामा उत्रेका छन् ।

उपमहासचिव जनार्दन शर्मा पक्षले भोजपुरका हेमन्त राईलाई अध्यक्षमा अघि सारेको छ । राईलाई नेता सुदन किराँतीको समेत समर्थन छ ।

अर्का उपमहासचिव वर्षमान पुनले तनहुँका सुदिन पौडेललाई अघि सारेका छन् भने उपमहासचिव शक्ति बस्नेतले पर्वतका विजय सापकोटालाई उम्मेदवार बनाएका छन् ।

उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पक्षले रौतहटका उपदेश यादवलाई अध्यक्षको प्रतिस्पर्धामा उतारेका छन् । अखिल क्रान्तिकारीको इतिहासमा मधेशबाट अध्यक्षमा दाबी गर्ने यादव सम्भवतः पहिलो व्यक्ति हुन् ।

उपाध्यक्ष पम्फा भुसाल निकट विश्वमणि थापाले अध्यक्षमा उम्मेदवारी मनोनयन गरेका छन् । थापा सर्लाहीका हुन् । उपाध्यक्ष कृष्णबहादुर महराले पारिवारिक नाता सम्बन्ध भएका योगेन्द्र बुढालाई अघि सारेका छन् । महरासँग पारिवारिक सम्बन्ध भएका बुढा डोल्पाका हुन् ।

डा. बाबुराम भट्टराई पक्षका नेताहरू माओवादी केन्द्रमा समाहित हुँदा प्रवेश गरेकी तिर्सना हमालले पनि अध्यक्षमा उम्मेदवारी दिएकी छन् । हमाल जुम्लाकी हुन् ।

सापकोटा र हेमन्तको नाममा सहमतिको प्रयास विफल

पार्टी स्रोतका अनुसार अध्यक्ष प्रचण्डले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न नेताहरूलाई भनेका थिए । उनको चाहना पर्वतका विजय सापकोटालाई अध्यक्ष र भोजपुरका हेमन्त राईलाई महासचिव बनाएर कार्य समिति बनोस् भन्ने थियो । तर सहमतिको प्रयास विफल भएपछि उम्मेदवारी दर्ता प्रक्रिया अघि बढेको थियो ।

अनलाइनमार्फत् मंगलबार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको थियो । तर, सर्भरमा समस्या आएपछि उम्मेदवारी दर्ताको समय बढाइएको थियो ।

अखिल क्रान्तिकारीका फ्र्याक्सन इन्चार्ज हिमाल शर्माले पार्टी हुनुको नाताले सहमतिमै नयाँ नेतृत्व चयनको प्रयास गरिएको तर सफल नभएको बताउँछन् ।

‘सहमति गर्दा एउटा पक्षले अर्को पक्षलाई पेलेको जस्तो महसुस हुने हुन्छ । त्यहीभएर अब खुल्ला छाडिदिने भनेर अध्यक्ष प्रचण्डले फ्र्याक्सन इञ्चार्जको हैसियतले मलाई भन्नुभयो,’ शर्माले भने ।

त्यसैले निर्वाचन प्रक्रिया अघि बढाइएको उनको भनाइ छ । ‘अब प्रक्रियामा गइसकेको सन्दर्भमा उम्मेदवारी फिर्ताको समयमा कसैले कसैलाई समर्थन गरेर छाडिदियो भने त भइहाल्यो नत्र अब पार्टीले यसो गर उसो गर भन्दैन,’ उनले भने ।

३२ वर्षे उमेर हद

अखिल क्रान्तिकारीले पहिलोपटक ३२ वर्षे उमेर हद लगाएर नयाँ नेतृत्व चयन गर्दै छ । उमेर हद लागु हुँदा अघिल्लो कमिटीमा उपमहासचिव भएकाहरू अध्यक्ष बन्ने अवसर पाएका छन् ।

अखिल क्रान्तिकारीको २४३ जनाको केन्द्रीय समितिमा पदाधिकारी ३३, सचिवालय सदस्य, केन्द्रीय सदस्य १६२ जनाका लागि निर्वाचन हुनेछ । निर्वाचन मिति १२ माघलाई तोकिएको छ ।

गत १० असोजदेखि १४ असोजसम्ममा काठमाडौंको कीर्तिपुरमा आयोजित राष्ट्रिय सम्मेलनमा उमेर हद कायम गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदा नेतृत्व चयन नगरी सम्मेलन स्थगित गरिएको थियो । त्यसैले अहिले बल्ल नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिएको हो ।

अखिल क्रान्तिकारीमा उमेर हद कायम गर्ने कि नगर्ने भन्ने विवाद निर्वाचनमार्फत् टुंगो लगाइएको थियो । ३२ वर्ष उमेर हद लगाउने कि खुला गर्ने भन्ने विषयमा भोटिङ हुँदा ३२ वर्ष उमेर हद लगाउने पक्षमा बहुमत आएको थियो । सोही नतिजा अनुसार ३२ वर्षसम्मकाले उम्मेदवारी दर्ता गराएका हुन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours