कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभल माघ १७ देखि

०८ माघ, काठमाडौं । नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभलको छैटौँ संस्करण माघ १७ गतेदेखि १९ सम्म आयोजना हुने भएको छ । महोत्सवमा ४७ देशका ९८ फिल्म स्क्रिनिङ हुने आयोजित पत्रकार सम्मेलनमा जनाइयो ।

छोटा फिल्मसँगै कथानक, डकुमेन्ट्री, एनिमेटेडसहित महिला, बालबालिका, मानवअधिकारबारेका फिल्म छनोट भएका छन् । महोत्सव आयोजक संस्था चलचित्र तथा संस्कृति केन्द्रका अध्यक्ष सन्तोष सुवेदीका अनुसार २ मिनेटदेखि साढे २ घण्टासम्मका फिल्म छनोट भएका छन् ।

प्रतिस्पर्धाको लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय जुरी चयन गरिएको छ । जसमा भारतबाट निर्देशक निपोन धौला, जर्मनीबाट फाविन मात्थियस र इभिन बिराजी, बेलायतबाट लेखक तथा निर्देशक लुईसा प्रिटोलानी, क्यानडाबाट निर्देशक जुडी ग्लाड्स्टोन, इरानबाट अभिनेत्री, लेखक र निर्देशक तिमा टाघिजादेह, बहराइनबाट निर्माता, निर्देशक तथा लेखक इभा दाउद र रुसबाट इरिना बेराजी छन् ।

नेपालबाट निर्णायकको रूपमा सङ्गीतकार शम्भुजीत बासकोटा, अभिनेत्री मिथिला शर्मा, निर्देशक दीपेन्द्र के. खनाल, अभिनेता प्रदी खड्का र टेलिभिजनकर्मी टीकाराम यात्री, अभिनेत्री सुरक्षा पन्त, निर्माता रौनकविक्रम कँडेल र निर्देशक दिनेश लिङदेन छन् ।

महोत्सवमा दक्षिण एसियाली मुलुक भारत, बङ्गलादेश, पाकिस्तानसहित पूर्वी एसियाली मुलुक चीन, जापान, थाइल्यान्ड, दक्षिण कोरिया, युएई, कतार, हङकङ, फिलिपिन्स, इन्डोनेसिया, भियतनाका फिल्म छनोट भएका छन् ।

अमेरिका, क्यानडा, अस्ट्रेलिया, अर्जेन्टिना, बेलायत, फ्रान्स, इटाली, आयरल्यान्ड, जर्मनी, रसिया, ट्युनेशिया, पोर्चुगल, पोल्यान्ड, हङ्गेरी, ग्रिस, फिनल्यान्ड, डेनमार्क, बुल्गेरिया, चेक रिपब्लिक, अस्ट्रियासहित विभिन्न युरोपेली मुलुकका फिल्म समेत छनोट भएाक छन् ।

महोत्सवमा प्रदर्शनसँगै फिल्मबारे छलफल, मास्टर क्लास, कार्यशाला समेत हुनेछ । उदघाटन समारोह दरबारमार्गस्थित क्यूएफएक्स सिनेमा राईजिङ मलमा हुनेछ । सोही हलमा दुई दिनसम्म नियमित फिल्म स्क्रिनिङ हुने जनाइएको छ ।

विकास बोर्डमा तीन दिनसम्म फिल्म स्क्रिनिङ, मास्टर क्लास, र कला प्रदर्शनी आयोजनासहित बोर्डमै महोत्सवको समापन समारोह गरिनेछ । विभिन्न विधामा सर्वोत्कृष्ट फिल्म, कलाकार र प्राविधिकलाई पुरस्कृत गरिनेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours