छिट्टै आउँछ त क्यान्सरको खोप ?

०८ माघ, काठमाडाैं । हाम्रो जीवनकालमा हरेक पाँचमा एकजना मानिसमा क्यान्सर रोग हुनसक्छ र क्यान्सर रोगीको संख्या निरन्तर बढिरहेको छ ।

सन् २०२५ सम्ममा विश्वभर कुनै न कुनै प्रकारका क्यान्सरबाट पीडित मानिसहरुको संख्या दुई करोडसम्म पुग्न सक्ने अनुमान छ ।

तर, चिकित्सा विज्ञानले खोपका माध्यमबाट विभिन्न खालका रोगहरुको रोकथाम गर्नमा सफलता प्राप्त गरिरहेको बेला भविष्यमा खोपकै माध्यमबाट क्यान्सरको पनि उपचार होला भन्ने आशा जागेको छ ।

खोप आउनेबारे प्रगतिका खबरहरु पनि आइरहेका छन् । गत अप्रिल महिनामा बेलायतमा पहिलोपटक परीक्षणको रुपमा बिरामीहरुमा मेलानोमा क्यान्सरको खोप दिइएको छ ।

त्यस्तै फोक्सोको क्यान्सरविरुद्ध लड्नका लागि तयार पारिएको एक खोप विभिन्न ७ देशमा नमूनाको रुपमा प्रयोग गरिंदैछ ।

त्यस्तै फ्लोरिडा विश्वविद्यालयका वैज्ञानिकहरुले एउटा यस्तो खोप तयार पारेका छन् जसले सबैभन्दा साधारण खालको मस्तिष्क क्यान्सरको रोकथाम हुनसक्छ ।

वास्तवमा उपचारका नयाँ तरिकाहरुको सुरुवात कोभिड महामारीका क्रममा बनाइएका भ्याक्सिनहरुबाट भएको थियो जो एमआरएनए प्रविधिमा आधारित भएर तयार पारिएका हुन्छन् ।

उक्त प्रविधिबाट तयार खोपहरु पारम्परिक प्रविधिबाट बनेका भ्याक्सिनको तुलनामा धेरै प्रभावशाली हुन्छन् । अहिले विभिन्न प्रकारका क्यान्सर खोपहरुको ट्रायल चलिरहेको छ । यस्तोमा के क्यान्सरको खोप छिटै नै आम प्रयोगमा आउला त ?

क्यान्सर के हो ?

भविष्यमा खोपका माध्यमबाट क्यान्सरको उपचार कसरी हुनसक्छ भन्ने कुरा बुझ्नका लागि क्यान्सर के हो र यसले हाम्रो शरीरमा के असर पार्दछ भन्ने कुरा बुझ्नु आवश्यक हुन्छ । अमेरिकाको टेनिसीस्थित सारा क्यानन रिसर्च इन्स्टिच्युटकी मेलानोमा एण्ड स्क्रिन क्यान्सर अनुसन्धानका निर्देशक म्यारेडिथ म्याक्किनका अनुसार हाम्रो सरीर अरबौं कोशिकाहरुबाट बनेको हुन्छ । क्यान्सरका बिरामीहरुमा केही कोशिकाहरू अनियन्त्रित तरिकाले निर्माण हुन थाल्छन् र बढ्न थाल्छन् । विभिन्न प्रकारका क्यान्सरका कोशिकाहरुको स्वरुप फरक हुन्छ ।

हाम्रो शरीरमा करिब २ सय प्रकारका कोशिकाहरु हुन्छन्, जसबाट हाम्रो शरीरका विभिन्न अंगहरू बन्दछन् । यी कोशिकाहरुले त्यहाँबाट प्राप्त हुन संकेतहरुका आधारमा काम गर्दछन् जसलाई डिएनए भनिन्छ ।

जब नयाँ कोशिका बन्दछन् तब त्यसको डिएनएको प्रतिलिपि पनि बन्दछ । तर कहिलेकाहीँ डिएनएको प्रतिलिपि सही तरिकाले बन्दैन ।

ती बिग्रिएका कोशिकाहरुले गलत संकेतका आधारमा काम गर्न थाल्छन् जसबाट ती कोशिकाहरुको संख्या अनियन्त्रित रुपमा बढ्दछ र सरीरभित्र ट्युमर अर्थात् गाँठागुठी पैदा हुुन्छन् । तर, सामान्य ट्युमर र क्यान्सरयुक्त ट्युमरमा के फरक हुन्छ ?

म्यारेडिट म्याक्किनका अनुसार हाम्रो शरीरमा विभिन्न खालका ट्युमर पैदा हुनसक्छन् । सामान्य ट्युमरबाट शरीरलाई नोक्सान हुँदैन । तर, जुन ट्युमरका कोशिकाहरु डिएनए संकेत अनुसार काम गर्दैछन् ती नै क्यान्सरयुक्त कोशिका हुन् । सूक्ष्मदर्शक यन्त्रबाट क्यान्सरयुक्त कोशिकाहरु त्यसका मूल कोशिकाभन्दा निकै फरक रहेको प्रष्ट देख्न सकिन्छ ।

यदि कोशिकाहरुले नियमानुसार काम गर्न छाडेभने शरीरका विभिन्न अंगमा त्यसको असर पर्दछ र त्यसले सही तरिकाले काम गर्न सक्दैनन् । आखिर यसो किन हुन्छ ?

यसका विभिन्न कारण हुनसक्छन् । उमेर, खानपानको तरिका, पर्यावरणको प्रभाव, भाइरस, धुम्रपान, आनुवांशिक प्रभाव तथा हाम्रो सरीरका वंशाणुहरु पनि क्यान्सरको कारक तत्व बन्न सक्दछन् ।

विज्ञका अनुसार हाल यस विषयमा निश्चित रुपमा केही भनिहाल्न मुस्किल छ । तथापि क्यान्सरका बिरामीको उपचारको सम्भावना चाहिं बढ्नसक्छ । साथै क्यान्सर पुनः फर्किने खतरालाई पनि कम गर्न सकिन्छ क्यान्सरको उपचार कसरी हुनसक्छ ?

म्यारेडिथ म्याक्किनका अनुसार क्यान्सर रोग छिटो पत्ता लाग्यो भने त्यसले उपचार सहज हुन्छ । उनी भन्छन् : विभिन्न प्रकारका क्यान्सर छिटो पत्ता लागेमा शल्यक्रियाका माध्यमबाट उपचार सम्भव हुन्छ । साथै औषधि, केमोथेरापी, विकिरण तथा इम्युन थेरापीबाट पनि क्यान्सरको उपचार गर्न सकिन्छ ।

तर, केमोथेरापी तथा रेडिएसनबाट क्यान्सरयुक्त कोशिकाको रोकथामको प्रयास छ हुन्छ तथापि यसका विभिन्न साइड इफेक्ट अर्थात् दूष्प्रभाव पनि हुन्छन् । यसबाट शरीरका स्वस्थ तन्तुहरुमा पनि क्षति पुग्दछ।

तर, के हाम्रो सरीरको रोग प्रतिरोधी प्रणालीले यसमा कुनै भूमिका निर्वाह गर्नसक्छ ?

म्यारेडिथ म्याक्किनका अनुसार क्यान्सरको कोशिकाले शरीरको रोग प्रतिरोधी प्रणालीबाट लुक्नका लागि आफ्नो सतहमा यस्ता प्रोटिनले छोप्दछ जसबाट शरीरको रोग प्रतिरोधी प्रणालीले त्यसलाई पहिचान गरेर नष्ट गर्न पाउँदैन । तर इम्यूनोथेरापीका माध्यमबाट यस प्रणालीले क्यान्सरयुक्त कोशिका पहिचान गर्न र त्यसलाई त्यहाँबाट पनि त्यस्ता कोशिकालाई नष्ट गर्न सकिन्छ।

आशाको किरण

विज्ञका अनुसार खोपले क्यान्सरसँग लड्नका लागि लामो समयसम्म प्रतिरोधी क्षमता प्रदान गर्न सक्दछ । साथै किमोथेरापी तथा विकिरणका माध्यमबाट उपचार गर्दा पैदा हुने साइड इफेक्टको खतरा नहुने भएकाले क्यान्सर उपचारमा यो उपयुक्त विकल्प हुनसक्छ ।

आखिर कुनै बिरामीलाई रक्त क्यान्सर भयो भने त्यसको उपचारमा खोपको प्रयोग कसरी र कहिले होला ? वास्तवमा यो ठ्याक्कै भन्न अहिले नै कठिन छ । कतिपय वैज्ञानिकहरु चाहिं सर्जरीको माध्यमबाट डाक्टरले बिरामीको सरीरमा रहेका क्यान्सरयुक्त कोशिका निकालेपछि मात्रै खोप प्रभावकारी हुने ठान्दछन् । शल्यक्रिया पछिपनि क्यान्सरका केही कोशिकाहरु शरीरमै लुकेर रहेका हुनसक्छन् । खोपनले तिनै बचेका क्यान्सर कोशिकालाई पुनः बढ्न वा क्यान्सरको पुनरागमन हुनबाट रोक्दछ ।

त्यसैले यस्तो लाग्छ कि क्यान्सरको उपचारका लागि केवल भ्याक्सिन मात्रै पर्याप्त नहोला । विज्ञका अनुसार यसको एउटा कारण छ। त्यो भनेको भ्याक्सिनले सरीरको प्रतिरोधात्मक प्रणालीलाई क्यान्सरविरुद्ध लड्नका लागि तयार पार्नमा समय लिन्छ ।

त्यसैले जो बिरामीको शरीरमा क्यान्सर फैलिरहेको हुन्छ उसका लागि उपचारको यो माध्यम उपयुक्त हुँदैन । किनकि त्यस्तो बिरामीलाई तत्कालै क्यान्सरको फैलावट रोक्ने खालको उपचार आवश्यक हुन्छ ।

शरीरमा लुकेका तथा सक्रिय नभइरहेका क्यान्सर कोशिकालाई चाहिं भ्याक्सिनको माध्यमबाट नष्ट गर्न सकिन्छ । साथै भ्याक्सिनले शरीरको प्रतिरक्षा प्रणालीलाई क्यान्सर कोशिकाको पहिचान गरी नष्ट गर्ने तालीम पनि प्रदान गर्दछ, जुन दशकौंसम्म कायम रहन्छ । अर्थात् यसबाट हाम्रो शरीर दशकौंसम्म क्यान्सरको पुनरागमनबाट बच्छ।

कति छिटो आउला क्यान्सरको भ्याक्सिन ?

आखिर आगामी ५/१० वर्षभित्रमा क्यान्सरसँग लड्ने कार्यमा भ्याक्सिनले कति ठूलो परिवर्तन ल्याउन सक्ला त ?

विज्ञका अनुसार हाल यस विषयमा निश्चित रुपमा केही भनिहाल्न मुस्किल छ । तथापि क्यान्सरका बिरामीको उपचारको सम्भावना चाहिं बढ्नसक्छ । साथै क्यान्सर पुनः फर्किने खतरालाई पनि कम गर्न सकिन्छ । यदि क्यानसर हुनुअघि नै भ्याक्सिन दिइयो भने क्यान्सरसँग लड्नमा सहयोग पुग्ने सम्भावना सैद्धान्तिक रुपमा रहेको छ । यस दिशामा वैज्ञानिकहरुले तीव्र गतिमा काम गरिरहेका पनि छन् ।

के अब क्यान्सरको खोप तत्कालै आउला त ?

वास्तवमा क्यानसरसँग सम्बन्धित विभिन्न भाइरसलाई कमजोर बनाउने खालका खोपहरु पहिलेदेखि नै प्रयोगमा छन् ।

उदाहरणको रुपमा एचपिभी तथा हेपाटाइटिस बी भाइरसको रोकथामका लागि खोप उपलब्ध रहेको छ । तथापि क्यान्सरको ट्युमर फरक-फरक खालको हुन्छ र एउटै भ्याक्सिनले सबैको उपचार गर्न सम्भव हुँदैन ।

तथापि यस्तो खालको बहुप्रभावी औषधि बनाउने दिशामा पनि तीव्र रुपमा काम भइरहेको छ । विडम्बना के भने यस काममा कोभिड महामारीकै कारणले गर्दा तीव्रता आएको हो । त्यस क्रममा एमआरएनए प्रविधिबाट निर्मित भ्याक्सिनहरु विभिन्न खालका रोगहरुको रोकथामका लागि प्रयोग गर्न सकिन्छ । क्यान्सरको रोकथामका लागि केही एमआरएनए भ्याक्सिनको ट्रायल चलिरहेको छ । त्यसैले क्यान्सरको भ्याक्सिन छिट्टै नै आउन सक्ने अनुमान गर्न सकिन्छ ।
-बीबीसीबाट

You May Also Like

More From Author

+ There are no comments

Add yours