त्रिवि शिक्षण अस्पतालमा ५ महिनापछि पुनः सञ्चालनमा आयो स्वास्थ्य बीमा कार्यक्रम 

०८ माघ, काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) ले सोमबारदेखि स्वास्थ्य बीमा कार्यक्रम पूर्णरूपमा पुनः सञ्चालनमा ल्याएको छ ।

गत १२ भदौदेखि आंशिक रूपमा स्थगित गरिएको यो सेवा पाँच महिनापछि पूर्ण रूपमा सञ्चालनमा आएको हो ।

अस्पतालका निमित्त निर्देशक डा. घनश्याम गुरुङका अनुसार स्वास्थ्य बीमा बोर्डले ल्याएको नयाँ प्याकेजप्रतिको असहमति र बोर्डबाट प्राप्त हुनुपर्ने सोधभर्ना रकम नपाएका कारण सेवा आंशिक रूपमा स्थगित गर्नु परेको थियो ।

अस्पताल प्रशासनका अनुसार गत पाँच महिनादेखि स्वास्थ्य बीमाबाट हुने गरेको भर्ना, शल्यक्रिया लगायत सेवा पूर्णरूपमा ठप्प थियो ।

स्थगन अवधिमा अस्पतालले ओपीडी र आकस्मिक सेवामा मात्र बीमा सुविधा उपलब्ध गराउँदै आएको थियो । त्रिवि शिक्षण अस्पतालमा २०७७ मंसिरदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो ।

बोर्डबाट अझै करिब ७० करोड रुपैयाँ प्राप्त गर्न बाँकी र २० करोड रुपैयाँको दाबी प्रक्रियामा रहेको अस्पताल प्रशासनले जनाएको छ ।

डा. गुरुङका अनुसार गत असारसम्मको बाँकी रकम छिट्टै भुक्तानी गर्ने प्रतिबद्धता जनाएपछि सेवा पुनः सञ्चालनमा ल्याइएको हो ।

देशकै सबैभन्दा ठूलो सरकारी अस्पतालमा पाँच महिनासम्म बीमा सेवा स्थगित हुँदा हजारौं बीमित बिरामीले समस्या भोग्नुपरेको थियो ।

अस्पतालले जारी गरेको सूचनामा सबै प्रकारका बीमा सेवाहरू पूर्ववत् रूपमा सञ्चालन हुने उल्लेख गरिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours