०७ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासनलाई उच्च प्राथमिकता दिएर काम गरिरहेका बेला आफूलाई प्रधानमन्त्रीबाट हटाइएको बताएका छन् ।
गोरखा नगरपालिका– ८ आहालेमा रहेको सरस्वती माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा चुर्लुम्म डुबेकाहरूले सरकार ढाल्न दिनरात प्रयास गरेको बताए ।
भ्रष्टाचारमा संलग्न रहेका जो कोहीलाई कारबाही गर्छु भन्दै अडान लिएर अघि बढेपछि आत्तिएर आफू नेतृत्वको सरकार ढालिएको उनको भनाइ थियो ।
उनले तेस्रोपटक प्रधानमन्त्रीका रूपमा देशको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत जनताको सेवा गर्न खोजेको चर्चा गरे । त्यसैकारण बिचौलिया र भ्रष्टहरूले सरकारबाट हटाएको उनले दोहोर्याए ।
‘सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोही भए पनि कारबाही गर्ने प्रक्रियाको थालनी गरियो, यो नै आम जनताका लागि आशाको दियो बन्न पुग्यो,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘माथिल्लो तहका नेताहरू, कर्मचारी र बिचौलियामाथिको कारबाहीले सुशासनको जग कायम गर्न मात्रै सहयोग गरेन्, जनतामा पुनः आशा र विश्वास पनि पलाउन थाल्यो ।’
राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा महत्वपूर्ण कामको थालनी गर्न गोर्खाली जनताको मतादेश महत्वपूर्ण रहेको औंल्याउँदै उनले गोरखामो समग्र विकासका लागि सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
+ There are no comments
Add yours