सुध्रियो तयारी चियाको बजार

०६ माघ, इलाम । कोभिड सङ्क्रमणका कारण तहसनहस बनेको नेपाली चियाको विदेशी बजार विस्तार हुन थालेको छ । उत्पादकका अनुसार यस वर्ष उत्पादन भएको तयारी चिया पूर्ण रूपमा निर्यात भइसकेको छ । तयारी चिया करिब सक्किएको इलामको साँखेजुङस्थित ग्रिनहिल टी इन्डस्ट्रिजका सञ्चालक टङ्क दाहालले बताउनुभयो ।

यसैबिच नेपाली चियाको निर्यात बढाउन केन्द्रीय चिया सहकारी सङ्घले नेपालको सहकारी र फ्रान्सको एक सहकारीसँग सम्झौता गरेर चिया निर्यात थालेको छ । फ्रान्सको ‘इक्युटेबल कोअपरेटिभ’ सँग वार्षिक सम्झौता गरी चिया निर्यात थालेको सङ्घले जनाएको छ ।

विभिन्न विदेशी संस्थाबाट निरन्तर अर्गानिक प्रमाणीकरण भइरहेका सहकारीको चिया पठाउन थालिएको सङ्घका महासचिव रविन राईले बताउनुभयो । “यस वर्ष १० हजार किलो चिया निर्यात गरेका छौँ । आउँदो सिजनका लागि पुनः सम्झौता गरेर पठाउने तयारी छ,” उहाँले भन्नुभयो “यस पटक इलामका तिनजुरे र उच्च पहाडी चिया सहकारीको तयारी चिया निर्यात भएको छ । अब अन्य सहकारीको पनि समन्वय गरेर चिया पठाउने प्रयासमा छौँ ।”

तेस्रो मुलुक निर्यात हुने चियाका लागि अर्गानिक प्रमाणीकरण पहिलो सर्त नै हुने गरेको छ । अहिलेसम्म विदेशी संस्था सेरेस, नासा, आइएमओलगायतबाट अर्गानिक प्रमाणीकरण भइरहेको छ ।

अर्गानिक प्रमाणीकरण गर्न निकै खर्चिलो हुने भएकाले धेरै किसानले प्रमाणीकरण गर्न नै सक्दैनन् तर प्रमाणीकरण निरन्तर भइरहेको प्रमाणपत्र भएका सहकारीको भने तयारी चिया विदेश पठाउन सजिलो भएको महासचिव राईको भनाइ छ ।

“यहाँका उद्योग र सहकारीले विदेशी चिया व्यापारीसँग फरक फरक सम्झौता गरेर चिया पठाउने गरेका थिए, हामीले थालेको सहकारीबिचको समन्वयले केही सहज भएको छ,” उहाँले भन्नुभयो, “अर्गानिक प्रमाणीकरणको प्रमाणपत्र, चियाको नमुना, सबै पहिला पठाएर उनीहरूले ल्याब टेस्ट गरेपछि मात्र पूरा हुन्छ । यो प्रक्रिया चाहिँ निकै झन्झटिलो छ ।”

इलामका अहिलेसम्म हिमालयन साङ्ग्रिला, गोर्खा टी स्टेट, पाँचथरको कञ्चनजङ्घा टीलगायतका ठुला र केही साना चिया उद्योगले अर्गानिक प्रमाणीकरण पछि आफ्नो उत्पादन तेस्रो मुलुक पठाइएको बताइएको छ । उत्पादकका अनुसार यस वर्ष उत्पादनको ६० प्रतिशत चिया भारत निकासी भएको छ । त्यस्तै ४० प्रतिशत चिया तेस्रो मुलुक निर्यात भएको छ । नयाँ बोटबाट उत्पादन, गुणस्तरीय चिया र स्वादिलो हुन र भारतमा उत्पादन घट्नुले पनि पनि नेपाली चियाको माग उच्च भएको उत्पादकले बताएका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours