०५ माघ, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले युरोपेली युनियन (ईयू) को आकाशमा नेपाली एयरलाइन्सको हवाई उडानमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका छन् ।
नेपालका लागि ईयूका राजदूत भेरोनिक लोरेन्जोसहितको प्रतिनिधिमण्डलसँग शुक्रबार मन्त्रालयमा भएको भेटघाटका क्रममा मन्त्री पाण्डेले ईयूको आकाशमा नेपाली एयरलाइन्समाथि लगाइएको प्रतिबन्ध चाँडै फुकुवा गरेर सहयोग गरिदिन अनुरोध गरेका हुन् ।
पर्यटनमन्त्री पाण्डेले नेपाल र ईयूबीच पहिलेदेखि कूटनीतिक सम्बन्ध रहेको स्मरण गराउँदै नेपाल र ईयूबीच साझेदारी रहेको उल्लेख गरे । उनले नेपाल र ईयूबीच करिब पाँच दशकअघि कूटनीति सम्बन्ध स्थापना भएदेखि घनिष्ट सम्बन्ध रहेको र ईयू नेपालको प्रमुख विकास साझेदारको रूपमा रहेको प्रति कृतज्ञता प्रकट गरे ।
राजदूत भेरोनिक लोरेन्जोले ईयूको लगाएको हवाई प्रतिबन्धले नेपाली पर्यटनका क्षेत्रमा परेको असरको बारेमा जानकार रहेको उल्लेख गर्दे नेपालले प्राविधिक रूपमा सक्षम बन्नुपर्नेमा जोड दिए । उनले फ्रान्सको एयरबस कम्पनीले नेपाली नागरिक उड्डयन क्षेत्रमा सहयोग गर्न तयार रहेको बताए ।
+ There are no comments
Add yours