०४ माघ, काठमाडौं । नेकपा एमालेकी सांसद प्रतिक्षा तिवारीले ५२ संवैधानिक पदाधिकारीले ४ वर्ष तनावमै बिताएको टिप्पणी गरेकी छिन् ।
संसदीय सुनुवाइबिनै विभिन्न संवैधानिक निकायमा नियुक्त पाएका ५२ पदाधिकारीविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको सन्दर्भ झिक्दै उनले यस्तो टिप्पणी गरेकी हुन् ।
शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिमा राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरूलाई बोलावट भएको थियो ।
समिति बैठकमा आयोगका सदस्य मिहिर ठाकुरले आफूहरू चार वर्षदेखि मुद्दामा रहेको बताए । सर्वोच्च अदालतमा मुद्दा विचाराधिन भएकाले काम गर्न मनोवैज्ञानिक रुपमा असर गरिरहेको बताए ।
त्यसपछि समितिमा संसदीय सुनुवाइबिनै नियुक्त ५२ पदाधिकारीबारेको मुद्दा लम्बिएको भनेर सांसदहरूले पनि प्रश्न उठाएका हुन् ।
सोही क्रममा सांसद तिवारीले आयोगका पदाधिकारीलाई काम गर्ने वातावरण बनाइनुपर्ने मा जोड दिइन् ।
‘जम्मा कार्यकाल ६ वर्षको हुन्छ । चार वर्ष त उहाँहरूको तनावमै बितेको छ,’ समिति बैठकमा सांसद तिवारीले भनिन् ।
चार वर्षसम्म पनि मुद्दा नटुंगिदा पदाधिकारीहरू अन्यायमा परेको उनको भनाइ छ ।
‘उहाँहरू आफैं अन्यायमा पर्नुभएको छ । अरुलाई न्याय दिनुपर्ने उहाँहरू नै अन्यायमा पर्नुभएन,’ उनले भनिन्, ‘आयोगका पदाधिकारीहरूमा मानसिक असर परेकै छ । मन्त्रीजीको ध्यानाकर्षण होस् ।’
+ There are no comments
Add yours