इमरान खानलाई सरकारी जग्गा हिनामिना प्रकरणमा १४ वर्ष जेल सजाय

०४ माघ, काठमाडौं । पाकिस्तानको एक अदालतले सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै १४ वर्ष जेल सजाय सुनाएको छ । यसैगरी उनकी पत्नी बुशरा बीबीलाई सात वर्ष जेल सजायँ सुनाइएको छ । उनीहरूले राज्यकोषमा ५० अर्ब पाकिस्तानी रुपैयाँ हिनामिना गरेको आरोप छ ।

अल कादिर ट्रस्टको जग्गा हिनामिना प्रकरणमा न्यायाधीश नासिर जावेद राणाले इमरान खानलाई १४ र उनकी पत्नी बुशरालाई ७ वर्ष जेल सजायँको फैसला सुनाएको द डनको अनलाइन संस्करणले जनाएको छ । यो मुद्दाको सुनुवाइ यसअघि तीन पटकसम्म स्थगित हुँदै आएको थियो ।

ट्रस्टको जग्गा हिनामिना आरोपमा खान ९ मेमा पक्राउ परेका थिए । उनी अदिआला जेलमा बन्द छन् । सजायँ सुनाउँदा उनीहरूलाई अदालत उपस्थित गराइएको थियो । त्यसपछि उनीहरूलाई पुनः जेलमा पठाइएको थियो ।

यो मुद्दामा अदालतले खानलाई १० लाख र उनकी श्रीमतीलाई ५ लाख रुपैयाँ जरिवाना समेत सुनाएको छ । यदि यो रकम बुझाउन नसके उनीहरूले थप ६ महिना जेलमा बस्नु पर्ने छ ।

सरकारको आरोप अनुसार खान प्रधानमन्त्री बनेपछि जग्गा व्यवसायी रियाजलाई सम्पत्ती शुद्धीकरण मुद्दामा फसाइएको थियो । लण्डनबाट उनीबाट ४० अर्ब रुपैयाँ जफत गराइएको थियो । यो रकम बेलायत सरकारले पाकिस्तान सरकारलाई दिलाएको थियो । तर इमरान खानले त्यसको जानकारी मन्त्रिपरिषदलाई नगराएको र इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई)को खातामा गोप्य तरिकाले पठाएको आरोप छ ।

त्यसपछि इमरान खानले अल कादिर ट्रस्ट बनाएका थिए । यसमार्फत् तालिम दिका लागि अल कादिर विश्वविद्यालय बनाइएको थियो । त्यसका लागि अरबौं मूल्य बराबरको जग्गा व्यवसायी रियाजले दिएको बताइएको छ । उनले इमरान पत्नी बुशरालाई हिराको औंठी पनि दिएका थिए । त्यसपछि रियाजविरुद्धका मुद्दा खारेज गरिदिएको आरोप इमरान माथि लगाइएको छ ।

पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहले भनेका छन्, ‘यसबाट सरकारी ढुकुटीमा ५० अर्ब रुपैयाँ नोक्सान भएको छ । चार वर्ष भइसक्दा पनि यो विश्वविद्यालयमा केबल ३२ विद्यार्थी छन् ।’
-एजेन्सीको सहयोगमा

You May Also Like

More From Author

+ There are no comments

Add yours