०४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै देशमा फलामखानी र मलकारखाना जस्ता ठूला उद्योगहरू खुल्ने क्रममा रहेको बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्प्पान) को रजत जयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ऊर्जाले खपतका ठाउँहरू आफैं बनाउने भएकाले ऊर्जा बिक्रीको चिन्ता गरिरहनु नपर्ने उनको भनाइ छ ।
‘हामीसँग आठ वटा औद्योगिक क्षेत्रहरू छन् । धौबादी फलामखानी र मल कारखाना खोल्दैछौं । दैलेखमा ग्यास उत्पादन हुँदैछ । ध्वस्त भएको उद्योगहरूले पुनर्जीवन पाउँदैछन् । ती सबैमा ऊर्जाका खपत हुनेछ,’ प्रधानमन्त्री ओलीले भने ।
ग्रिन हाइड्रोजन इनर्जी उत्पादन गर्न पनि अनुसन्धान भइरहेको उनको भनाइ छ । यस क्षेत्रमा नयाँ-नयाँ सम्भावनाको खोजी गर्नुपर्ने भन्दै उनले भने, ‘देशलाई आधुनिकीकरण र विकास गर्दै अँध्यारोबाट उज्यालोमा लाने प्रयासमा लागेका ऊर्जा उत्पादकहरूको योगदानको उच्च मूल्यांकन र प्रशंसा गर्दछु । तपाईँहरू लगानी गर्नुस् ।’
आगामी ११ वर्षभित्र २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनको मार्गचित्र सरकारले तयार गरिसकेको उनले बताए ।
प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रमा सरकारको लगानीका साथै निजी क्षेत्र र वैदेशिक क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्त्व दिइएको बताउँदै उनले व्यवस्था बदलियो अवस्था बदलिएन भन्नेहरूलाई उत्पादकहरूले सफलताका कथा देखाएर अवस्थामा परिवर्तन ल्याएको स्पष्ट गरे ।
+ There are no comments
Add yours