०४ माघ, काठमाडाैँ । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले जलवायु परिवर्तनका विषयमा काम गर्न र अन्तर्राष्ट्रियस्तरमा नेतृत्व गर्न व्यवस्थित टोली बनाउन निर्देशन दिएको छ । जलवायु परिवर्तन महासन्धिको पक्षराष्ट्र नेपालले अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुँदा व्यवस्थापन र नेतृत्वको शैली संस्थागत नहुँदा काम गर्न कठिन भएको भन्दै समितिले सो निर्देशन दिएको हो ।
समितिले विश्व जलवायु सम्मेलन (कोप–२९) को समीक्षा र नेपालको आगामी कार्यदिशा विषयमा छलफल गर्न वन तथा वातावरण, अर्थ, ऊर्जा तथा सिँचाइ र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकारीसँग छलफल गर्ने क्रममा सो निर्देशन दिएको हो । समितिका सभापति कमला पन्तले सरकारको कामलाई प्रभावकारी बनाउन समितिले चासो व्यक्त गर्दै सो निर्देशन दिएको बताउनुभयो । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले कोप–२९ सम्मेलनमा १९२ जनाको नेपाली टोली भए पनि सरकारको प्रतिनिधित्व गर्ने अधिकारीको सङ्ख्या थोरै रहेको जवाफ दिनुभयो । उहाँले कोप–२९ सम्मेलनमा भाग लिँदा देखिएका कमजोरी र समस्या सुधार्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कोप–३० बैठकका लागि नेपालले आफ्नो संयन्त्रमार्फत अहिलेदेखि नै तयारी सुरु गर्ने मन्त्री शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको बजेटले नभ्याउने देखिँदा दातृ तथा विकास साझेदार संस्थासँग समन्वय गरेर जानुपर्ने अवस्था आयो ।”
छलफलमा समितिका सदस्य विष्णुबहादुर विश्वकर्माले भारत जस्तो विशाल राष्ट्रले १११ जनाको टोलीबाट सम्मेलनको सबै बैठकमा सहभागी भएर आउनु र नेपालको १९२ जनाको टोली लिएर जाँदासमेत बैठकमा जनशक्ति अभाव भएको भन्नु उपयुक्त नभएको बताउनुभयो ।
गत नोभेम्बर ११ देखि २२ सम्म अजरबैजानमा कोप–२९ सम्मेलन भएको थियो । सम्मेलनमा नेपालबाट १९२ जनाको टोली सहभागी भएको थियो । बैठकमा विश्वकर्माले भन्नुभयो, “देश हेर्न भ्रमणका लागि गएको हो ? ठुलो टोली हुँदाहुँदै ६८ वटा बैठकमा सहभागी नै नहुनु दुःखद हो ।”
+ There are no comments
Add yours