अधिकृत हुने शैक्षिक योग्यता स्नातकोत्तर राख्न प्रस्ताव

०३ माघ, काठमाडौं । जनसंख्याविद् दामोदर ज्ञवालीले अधिकृत हुने शैक्षिक योग्यता स्नातकोत्तर गरेको हुनुपर्ने प्रस्ताव गरेका छन् ।

बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो कानुनी व्यवस्थाको प्रस्ताव गरेका हुन् । यस्तो प्रावधान संघीय निजामती सेवा एनमा राख्न उनको आग्रह छ ।

संघीय निजामती सेवा विधेयक हाल राज्य व्यवस्था समितिमा दफावार छलफलमा छ ।

बिहीबारको बैठकमा समितिले विधेयकबारे जनसंख्याविद्‍हरूलाई छलफलमा बोलाएको छ । जहाँ जनसंख्याविद्को रूपमा उपस्थित पूर्वनिजामती कर्मचारी ज्ञवालीले अधिकृत हुन चाहिने शैक्षिक योग्यता स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने प्रस्ताव गरेका हुन् ।

‘स्नातकोत्तर गरेकालाई मात्रै अधिकृत हुन सक्ने राखौं । ताकि सेवा प्रवेशपछि बढुवाका लागि पढिरहने अवस्था रहन दिन हुँदैन,’ उनले भने ।

निजामती कर्मचारीमा सेवा प्रवेश खुला राख्न पनि उनको सुझाव छ । ‘सेवा प्रवेशमा किन उमेरको सीमा तोक्ने ? यो खुला राखौं । बरु योग्यता र क्षमता तोकौं । उमेरको सीमा नराखौं,’ उनले भने ।

युवा अफिसर भनेर त्यसमा उमेर राख्ने हो भने त्यो भने पाच्य नहुने उनले बताए । तर सबैलाई उमेरको सीमा राख्न नहुने उनको सुझाव छ ।

उनी भन्छन्, ‘म आफैं यूएनको एउटा कार्यक्रममा काम गर्न फारम भरिरहेको छु । ५५ वर्ष भएँ । यूएनले काम गर्न सक्ने अवस्था, योग्यता र क्षमता राखेर सेवा लिन्छ । यस्तो हामीले पनि किन नगर्ने ?’

You May Also Like

More From Author

+ There are no comments

Add yours