०३ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका पछिल्ला कदमले संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी गरेका छन् ।
चितवनको माडीमा अवस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै दुर्घटना हुने हो कि भन्ने खतरा पैदा भएको छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘संविधान, लोकतन्त्र, समावेशी र समानताका पक्षमा यसले खोस्न खोजियो भने देश राजनीतिक खतरामा जानसक्छ ।’
दुर्घटनाबाट देशलाई बचाउन उनले जनप्रतिनिधि लगायत सम्पूर्ण जनतालाई आ–आफ्नो ठाउँबाट आवाज उठाउन अनुरोध पनि गरे । प्रचण्डले आफू नेतृत्वको सरकार हुँदा केही सकारात्मक पहल भएको भए पनि अहिले त्यसलाई भत्काउने काम भइरहेको जिकिर गरे ।
‘मेरो सरकार हुँदा केही सकारात्मक पहल भएका थिए । त्यही सन्दर्भमा निकै अप्राकृतिक, अपारदर्शी र असंवैधानिक ढंगबाट पहिलो र दोस्रो दल मिलेर सरकार बन्यो,’ प्रचण्डले भने, ‘सरकार बनेयता गरेका कामहरू संविधान र लोकतन्त्रको मर्यादा विपरीत धेरै काम भएका छन् ।’
सरकारले पछिल्लो पटक ल्याएका पाँच वटा अध्यादेश लोकतन्त्रको मर्यादा र भावना विपरित भएको प्रचण्डको भनाइ थियो ।
‘अध्यादेशको जो लाइन लगाउन खोजिएको छ । सदनलाई छलेर अध्यादेशमार्फत् शासन गर्न खोज्नु लोकतन्त्रको मर्यादा र भावना विपरित हो,’ प्रचण्डले भने ।
समितिमै विचाराधीन रहेको विधेयकलाई पनि वास्ता नगरी सरकारले अध्यादेश ल्याएको भन्दै प्रचण्डले त्यसप्रति आपत्ति जनाए ।
‘विधेयक सदनमा प्रस्तुत भयो, सदनको फुल हाउसबाट समितिमा पठाइयो । त्यो विधेयक अहिले समितिमै छ । त्यस्तो विधेयक पनि फिर्ता लिएर अध्यादेश बनाउने दुस्साहस भएको छ,’ प्रचण्डको भनाइ छ ।
+ There are no comments
Add yours