०३ माघ, काठमाडौं । जय ट्रफी एलिट कप २०८१ अन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच फाइनलको तेस्रो दिनको खेल बिहीबार जारी छ ।
वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी फाइनल खेलमा पुलिसले दोस्रो इनिङमा दिएको १०३ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले सुरूवातमै तीन विकेट गुमाएको छ ।
लन्त ब्रेकसम्म आर्मीले १० ओभरमा ३ विकेट गुमाएर २७ रन बनाएको छ । इमरान शेख १० र बसिर अहमद ६ रन बनाएर खेलिरहेका छन् । तृतराज दास २, सन्तोष कार्की ० र भिम सार्की ५ रनमा आउट भएपछि १७ रनमै ३ विकेट गुमेको थियो । पुलिसका ललित राजवंशीले २ तथा सागर ढकालले १ विकेट लिएका छन् ।
त्यसअघि तेस्रो दिनमा १३२-९ को अवस्थाबाट सुरूवात गरेको पुलिस १३९ रनमा अलआउट हुँदै १०२ रनको अग्रता बनाएको थियो । ओपनर कुशल भुर्तेलले सर्वाधिक ४५ तथा दिलिप नाथले ३४ रन बनाए । आर्मीका साहब आलमले ५ तथा बसिर अहमदले ४ विकेट लिए । साहबले पहिलो इनिङमा ७ विकेट लिएका थिए ।
पहिलो इनिङमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले १३३-९ को अवस्थामा इनिङ घोषणा गरेको थियो । पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५१ रन बनाए । अर्जुन साउदले २८ र अमित श्रेष्ठले २० रन बनाएर आउट भए । आर्मीका साहब आलमले ७ विकेट लिए भने सोमपाल कामी र बसिर अहमदले एक-एक विकेट लिए ।
त्यसपछि जवाफमा आर्मी १७० रन बनाएर अलआउट भएको थियो । आर्मीका भीम सार्कीले सर्वाधिक ५८ रन बनाउँदा बसिर अहमदले ४० रन बनाए । सोमपाल कामीले ३२ रन बनाए । विनोद भण्डारीले १४ र इमरान शेखले १० रन बनाए ।
पुलिसका लागि सागर ढकालले १५.५ ओभरमा ७८ रन खर्चेर ५ विकेट लिए । त्यस्तै कुशल भुर्तेलले ३ तथा ललित राजवंशी र गुल्शन झाले १-१ विकेट हात पारे ।
+ There are no comments
Add yours