०२ माघ, काठमाडौं । अभिनेता हरिवंश आचार्यलाई धेरैले सोध्छन्, तपाईं काभ्रेमा जन्मिनुभएको हो ? प्रायःजसो आउने यो प्रश्नमा उनको जवाफ हुने गर्छ- होइन, म काभ्रेमा गर्भमा बसेँ र काठमाडौंमा जन्मिएँ ।
तर, अब ६६ वर्षका आचार्यलाई जीवनको उत्तराद्र्ध काभ्रेमा बिताउने मन छ । उमेरले ७० वर्ष टेकेपछि आफू पुख्र्यौली थलो काभ्रेमै बसाइ सर्ने र नागरिकता पनि त्यहीँकै बनाउने सोच उनमा छ ।
मुटुरोग विशेषज्ञ राजेन्द्र कोजुको पुस्तक ‘मुटुको कथा’ विमोचन गर्न आयोजित समारोहमा हरिवंशले ७० कटेपछि आफू गाउँमा फर्किने सोचमा रहेको बताएका हुन् । उनको पुख्र्यौली घर काभ्रेको धुलिखेल नगरपालिका-१२ मा पर्छ ।
‘बुवाहरू त्यहाँबाट बसाइ सर्न आएको ७० वर्ष भएछ । म पनि ७० वर्षपछि बसाइ सरेर त्यहीँ जाने सोच्दैछु । काभ्रेको मान्छे भन्दा गर्व लाग्छ । नागरिकता काठमाडौंकै छ, त्यसलाई पनि चेन्ज गरेर काभ्रेमा बस्ने जाऊँ कि त्यहाँको नागरिकता बनाउँ कि जस्तो लाग्दैछ’ उनले भने ।
उनले आफू काठमाडौंमा जन्मिएको प्रष्टीकरण दिँदै भने, ‘म काभ्रेमा गर्भभित्र बसेको हो, जन्मिन चाहिँ काठमाडौंमा जन्मिएको हुँ । काभ्रेको हावापानी, चामल, कोदो, फापरले मेरो जिउका मासु बनेका हुन् । मेरो पुर्खाको ठाउँलाई हृदयदेखि ढोग्न चाहन्छु ।’
‘जयनेपाल माध्यमिक विद्यालयबाट जीवन बुझेँ’
चर्चित पुस्तक ‘चिना हराएको मान्छे’का लेखक समेत रहेका हरिवंशले चलचित्र र नाटकभन्दा किताबको महत्व ज्यादा रहेको बताए । ‘किताबलाई चलचित्र र नाटकसँग तुलना गर्न सकिँदैन । संसारका प्रविधि नष्ट हुनसक्छन्, स्याटेलाइटमा रेकर्ड भएका डेटा मेटिनसक्छन् । किताबमा लेखिएका मेट्न सकिँदैन’ किताबको बखानमा उनी सुनिए ।
उनले किताब आफ्नो चौबिसै घण्टाको साथी रहेको बताए । ‘कोही मान्छे घरमा आउँछ र जान्छ । किताब चौबिसै घण्टा मेरो घरमा आएर बस्छ । मेरो सिरानमा राख्न पनि मिल्ने, मेरो टाउकोमा राख्न पनि मिल्ने । जहाँ पनि राख्न मिल्ने । सबैभन्दा मिल्ने साथी भनेको किताब हुने रहेछ’ उनले भने ।
उनले भैरव अर्यालका हास्यब्यंग्य किताबले आफूलाई हास्यब्यंग्य क्षेत्रमा अघि बढ्न प्रेरणा दिएको बताए । आफूले स्वअध्ययन गर्ने गरेपछि स्कुलमा भने फिटिक्कै नपढ्ने बानी रहेको उनले सम्झिए । ‘यति धेरै पढ्ने मान्छे तर स्कुलमा नपढ्ने मान्छे म । मेरो कर्ममा- पढ्न पनि पर्ने, नपढ्न पनि पर्ने’ भन्छन्, ‘स्कुलमा चाहिँ सबैभन्दा नपढ्ने मान्छे भनेर गन्या थिएँ म । सबैभन्दा काम नलाग्ने भनेर गनिएको थिएँ ।’
उनले स्कुलभन्दा चलचित्र घरबाट आफूले जीवनबारे धेरै कुरा बुझेको बताए । ‘मलाई रन्जना माध्यमिक विद्यालय, जयनेपाल माध्यमिक विद्यालमा राजेश खन्ना, हेलेन मिस, हेमा मालिनीले नपिटिकिन पढाउनुहुन्थ्यो । बुझाउनुहुन्थ्यो । त्यहीँ सिकेका कुरा लिएर जीवनमा अघि बढेको छु । उहाँहरूले पढाउनुभएको कुरा मेरो दिमागमा पस्न थाल्यो’ उनले भने ।
राजेन्द्र कोजुको पुस्तक ‘मुटुको कथा’ जन्मदिनमा दिन मिल्ने सर्वोत्तम उपहार भएको हरिवंश बताउँछन् ।
‘डाक्टर हुनुभन्दा एक्टर हुनु फाइदा’
हरिवंशले डाक्टर हुनुभन्दा एक्टर हुनु फाइदाजनक भन्दै ब्यंग्य गरे । ‘डाक्टर हुँदा डाक्टर मात्र भइने । एक्टर हुँदा डाक्टर पनि हुन पाइने, इन्जिनियर र चोर पनि हुन पाइने । सबैभन्दा धेरै चोर, नेता र सज्जन मान्छे पनि भएको छु’ उनले भने ।
‘अहिले पनि चलचित्र र टेलिचिलचित्रका स्क्रिप्ट लेख्दा धेरै पढन्ुपर्छ । हामीले एचआइभी एड्स, क्षयरोग र पर्यावरणको विषयमा पनि धेरैवटा टेलिचलचित्र बनाइसक्या छौं । त्यो बनाउँदा स्क्रिप्ट लेख्ने क्रममा सबैभन्दा पहिला आफूले पढ्नुपर्छ’ उनले भने ।
आफूलाई अघोषित डाक्टर भन्दा पनि हुने उनको भनाई छ । ‘आफूले पढेर त्यो चीज जानिएन भने स्क्रिप्ट लेख्न सकिँदैन । यसकारण पनि मलाई हृदयरोग, डायबिटिज, एचआइभी एड्सको बारेमा धेरै कुरा थाहा छ । यसकारण मलाई अघोषित डाक्टर भन्दा हुन्छ । टेलिचलचित्रमा डाक्टर भएर पनि खेल्या छु ।
डाक्टर हुनुभन्दा एक्टर हुनु फाइदा रहेको भन्दै उनले भने, ‘डाक्टर हुँदा डाक्टर मात्र भइने । एक्टर हुँदा डाक्टर पनि हुन पाइने, इन्जिनियर र चोर पनि हुन पाइने । सबैभन्दा धेरै चोर, नेता र सज्जन मान्छे पनि भएको छु ।’
जीवनसंगिनी मीरालाई गुमाउँदाको क्षण जीवनको सबैभन्दा दुःखद क्षण भएको उनको भनाई छ । ‘त्यो क्षणमा किताब लेख्न मलाई रवीन्द्र समीरले प्रेरणा दिनुभयो । अनि चिना हराएको मान्छे बजारमा निकाल्न पाएँ । अहिलेसम्म बजारमा १ लाखभन्दा धेरै पिस बिकेको छ’ उनले भने ।
+ There are no comments
Add yours