०२ माघ, भैरहवा । बहुप्रतीक्षित सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु’माघ ११ गते हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले माघ ११ गते ‘ बहुप्रतीक्षित सिद्धबाबा सुरुङमार्ग छिचोल्ने अन्तिम कार्य (ब्रेक थ्रु) गर्ने भएका हुन् । यसअघि माघ ८ गतेलाई तय भएको सुरुङमार्ग ‘ब्रेक थ्रु’ कार्यक्रम ११ गतेलाई सारिएको हो ।
सुरुङमार्ग आयोजना प्रमुख कृष्णराज अधिकारीले लामो प्रतीक्षापछि ‘ब्रेक थ्रु’ गर्न लागिएको बताए । “यसका लागि प्रधानमन्त्री सहभागी हुने निश्चित भएको छ,” उनले भने ।
सुरुङमार्ग खनेर सक्न अब डेढ मिटर मात्र बाँकी छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डको अति दुर्घटना स्थल सिद्धबाबामा सुरुङमार्ग आयोजना अगाडि बढाइएको हो । एक हजार १२६ मिटरको सुरुङमध्ये खन्नुपर्ने भाग एक हजार ८९ मिटर मात्रै भएको आयोजना प्रमुख अधिकारीले बताए । जसमध्ये ‘ब्रेक थ्रु’ का लागि १.५ मिटर बाँकी राखेर एक हजार ८७.५ मिटर सुरुङ खनेर सकिएको छ ।’’
यसअघि नै तीन वटा बाइपास सुरुङ मुख्य सुरुङसम्म जोडिएको छ । बाइपास सुरुङ–३ को गत भदौ २६ मा, बाइपास सुरुङ–१ को असोज ४ मा र बाइपास सुरुङ–२ को पुस ७ मा ‘ब्रेक थ्रु’ भएको थियो । बाइपास–१५१, २६१ र ३३० मिटर टनेल छन् । दक्षिणतर्फ ६०८ र उत्तरतर्फ ४७९.५ मिटर सुरुङ खनिएको छ । आयोजनाका अनुसार ‘ब्रेक थ्रु’ समारोह हुने दिनमा साढे एक मिटर भागलाई विस्फोट गरिने छ ।
मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरेपछि सुरुङभित्रको भुइँ र भित्तामा ‘लाइनिङ’ गर्ने कामलाई तीव्रता दिइने छ । गाडी गुड्ने क्षेत्र निर्धारण गरेर ‘पेभमेन्ट’ ढलानको काम अघि बढेको छ । त्यसपछि विद्युतीकरण, ‘भेन्टिलेसन’, नालीलगायतका कामलाई गति दिइने आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले जानकारी दिइन् । उनका अनुसार सुरुङमार्गको भौतिक प्रगति ३९।४९ प्रतिशत र वित्तीय प्रगति ३९.९ प्रतिशत भएको छ ।
+ There are no comments
Add yours