सिमेन्टको मूल्यवृद्धिले उपभोक्ता मारमा

०१ माघ, घोराही। करिब एक महिनाको अवधिमा सिमेन्टको मूल्य बोरामा दुई सय रुपियाँभन्दा बढीले वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । मूल्यवृद्धिसँगै व्यवसायीले सिमेन्टको कृत्रिम अभाव सिर्जना गर्दा उपभोक्ताका साथ विकास निर्माणको काम प्रभावित बनेको छ ।

सिमेन्टको मूल्यवृद्धिसँगै बजारमा सिमेन्ट नपाउने समस्या भएको घोराही उपमहानगरपालिका–१५, भरतपुरमा घर निर्माण गर्नुभएका तेजमान घर्तीले बताउनुभयो । उहाँका अनुसार मङ्सिरको पहिलो साता प्रतिबोरा ४२५ रुपियाँमा पाइने सिमेन्ट अहिले बढेर ६६० रुपियाँ पुगेको छ । महिनामै दुई सय रुपियाँभन्दा बढीले वृद्धि हुँदासमेत उपभोक्ताले भनेको समयमा सिमेन्ट पाउने अवस्था नभएको उहाँले बताउनुभयो ।

जिल्लामा तीन वटा सिमेन्ट उद्योग भए पनि अहिले चाहिएको बेला सिमेन्ट नपाउने समस्या भएको उहाँले बताउनुभयो ।

सिमेन्ट उद्योगले उत्पादन घटाएका कारण सिमेन्टको उपलब्धतामा समस्या भएको घोराही हार्डवेयर व्यवसायी समितिका अध्यक्ष दामोदर केसीले बताउनुभयो ।

उद्योगबाट अत्यन्त कम मात्रामा सिमेन्ट बजारमा आउँदा उपभोक्ताले चाहे जति सिमेन्ट पाउन नसकेको भन्दै अध्यक्ष केसीले बताउनुभयो । उद्योगले मूल्यवृद्धि गरेको र समयमा सिमेन्ट नदिएको भनेर सम्बन्धित निकायमा जानकारी गराउँदा समेत सुनुवाइ नभएको उहाँले बताउनुभयो ।

निर्माणको काम सुरु भए पनि सिमेन्ट नपाउने समस्या भएका कारण व्यवसायी समस्यामा परेको दाङ निर्माण व्यवसायी सङ्घका अध्यक्ष प्रवीण भण्डारीले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सिमेन्टको मूल्य अस्वाभाविक बढेको गुनासो आइरहेको बताउँदै यस विषयमा उद्योगीसँग कारण खोजी गरिएको बताउनुभयो । कुन कुन बेला कति कति मूल्य बढाइए भन्नेबारे आफूले बुझ्ने काम गरिरहेको प्रजिअ लम्सालले बताउनुभयो । सिमेन्टमा भएको मूल्यवृद्धि पत्ता लगाउनका लागि जिल्लामा रहेको सिमेन्ट उद्योगसँग मूल्य माग गरेको र नियमविपरीत मूल्यवृद्धि भएको पाइए कारबाही गरिने बताउनुभयो ।

उहाँले अस्वाभाविक मूल्य बढाएको खुल्न आएमा कालो बजारी ऐन आकर्षित हुन सक्ने बताउँदै सबै विवरण आएपछि आवश्यक कारबाही गरिने बताउनुभयो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours