१५.५४ अंक गिरावट हुँदा २६०० बाट तल झर्‍यो नेप्से

२९ पुस, काठमाडौं । दोस्रो त्रैमासको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा ०.५९ प्रतिशतको गिरावट हुँदा २६०० को बिन्दुबाट तल झरेको छ । सोमबार नेप्से परिसूचक १५.५४ अंकले गिरावट भएर २५९४.१३ मा झरेको हो ।

नेप्सेमा गिरावट भए पनि सोमबार कारोबार रकम भने उलेख्य बढेको छ । गत बिहीबार ७ अर्बमाथिको कारोबार भएको बजार आइतबार ४ अर्ब पनि पुग्न सकेको थिएन ।

सोमबार भने ६ अर्ब ६५ करोड ९ लाखको सेयर कारोबार भएको छ । ६४ हजार २ सय ७८ कारोबार मार्फत १ करोड ३८ लाख ७० हजार ५ सय ७९ कित्ता धितोपत्र किनबेच हुँदा उक्त रकम बराबर कारोबार भएको हो ।

निर्माण व्यवसायीको भुक्तानीमा समेत र अन्य क्षेत्रमा समेत कर्जा असुली प्रभावित हुँदा बैंकहरूको वित्तीय विवरण बिग्रिँदै गएको बैंकर बताउँछन् । साना तथा मझौला व्यवसाय कर्जा रिकभरीमा ठूलो समस्या तथा केही क्षेत्रमा धितो लिलाम समेत गर्न नसक्ने अवस्था रहेको बैंकर बताउँछन् । त्यस्तोमा दोस्रो त्रैमासमा वित्तीय विवरणमा दबाब बढ्दै गएको छ ।

बैंकहरूको वित्तीय विवरण बिग्रिन सक्ने भन्दै सेयर लगानीकर्तामा परेको मनोवैज्ञानिक प्रभावले लगातार दोस्रो दिन पनि नेप्सेमा दोहोरो अंकको गिरावट देखिएको हो । सोमबार नेप्सेमा सबै उपसूचकमा गिरावट भएको छ ।

व्यापार उपसूचक सर्वाधिक १.८९ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १.३६ प्रतिशत र वित्त कम्पनी उपसूचक १.३२ प्रतिशतले गिरावट भएको छ ।

सोमबार नेप्सेमा कुल २ सय ४३ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १ सय ७५ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ६३ कम्पनीको बढेको छ ।

त्यस्तै ५ कम्पनीको कारोबार स्थिर छ । सोमबार कारोबार भएकामध्ये बाराही हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

यस्तै सुपर मादी हाइड्रोपावरको सेयर मूल्य ८.८७ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंक ८.८१, सपोर्ट लघुवित्त ८.४१ र नेपाल एसबीआई बैंकको सेयर मूल्य ७.३० प्रतिशतले बढेर बन्द भएको छ ।

यता आत्मनिर्भर लघुवित्त र सिन्धु विकास बैंकको सेयर मूल्य १० प्रतिशत घट्दै नकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै रिभर फल्स हाइड्रपोवरको सेयर मूल्य ८.३६ प्रतिशतले घटेको छ ।

सोमबार बजारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको सेयर सर्वाधिक ४५ करोड २६ लाखको कारोबार भएको छ । त्यस्तै न्यादी हाइड्रोपावर २८ करोड २७ लाख र हिमालयन पावर पार्टनरको १५ करोड ६० लाख रुपैयाँ बराबर सेयर कारोबार भएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours