गुरुङ संस्कृति र सुन्दरताको अर्को नाम घान्द्रुक

२८ पुस, काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्छ पर्यटकीय घान्द्रुक गाउँ । यो गाउँको आफ्नै संस्कृति छ । खासगरि गुरुङ संस्कृतिका लागि परिचित घान्द्रुक गाउँमा गुरुङ समुदायको बाहुल्यता छ ।

यो गाउँको आफ्नै विशेषता छन् । ढुंगैढुंगा बिछ्याएर परम्परागत रूपमा बनेको छ घान्द्रुक गाउँ । ढुङ्गाले छाएका घरहरू घान्द्रुक बासीको परम्परागत पहिचान हो । ढुङ्गा छापेर बनाइएका बाटो र सिँढीहरूले यहाँको शोभा बढाएको छ ।

घान्द्रुक, आफ्नै किसिमको सांस्कृतिक, भौगोलिक, पौराणिक दृष्टिले अति सुन्दर मानिन्छ । यहाँ हेर्न र घुम्न लायक धेरै ठाउँहरू रहेका छन् । जसमा तौजीवराह, पोज नेबवराह, कोट डाँडा, गुम्बा, ङयोवराह ताल आदि रहेका छन् ।

यहाँबाट विभिन्न हिम शृङ्खला, सूर्योदय हेर्न पाइन्छ । सुन्दर ग्रामीण बस्ती, फरक संस्कृति, मनोरम भूगोलको काखमा बस्न पाउनु सबैका लागि आनन्ददायी महसुस हुन्छ । घान्द्रुकको प्रकृतिसँग जति रमाए पनि मन अघाउँदैन । घान्द्रुक स्वदेशीसँगै धेरै विदेशी पर्यटकहरूका लागि घुम्ने र रमाइलो गर्ने मुख्य केन्द्र बन्दै गएको छ ।

होमस्टेबाट बिहानै निस्कँदा चराका आवाजसँगै माछापुच्छ्रे, हिमचुली, अन्नपूर्ण हिमाल अवलोकन गर्न समेत पाइन्छ । नजिकै हिमालको काखमा बसेको अनुभव गराउने घान्द्रुक आफैमा लोभ लाग्दो छ । घान्द्रुक अन्नपूर्ण सर्किट पदयात्रा, घोरेपानी, पुनहिल, अन्नपूर्ण बेसक्याम्प आदिको प्रवेशद्वार पनि हो ।

घान्द्रुक गाउँ पोखरा बजारबाट ४२ कि.मि उत्तरमा पर्दछ । जति टाढा र बाटो कठिन भएता पनि यहाँ पर्यटकहरू भने त्यति नै बढ्दै गएका छन् । घान्द्रुकको स्वच्छ हावा, रमणीय वातावरण र गुरुङ जातीय भेसभुसा यहाँको संस्कृति परम्पराले नै घान्द्रुक गाउँमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढेको हो ।

संस्कृति र पर्यटकले बद्लेको घान्द्रुक

घान्द्रुक गाउँको सुन्दरताको बारेमा जति वर्णन गरे पनि कमै हुन्छ । यहाँको भेसभुसा, रहनसहनले सबैको मन तान्छ । कसैले होमस्टे, कसैले होटेल, कोही गाइड लगायतका व्यवसाय गरिरहेका छन् यहाँका स्थानीय । पर्यटकहरूको सङ्ख्या बढेसँगै यहाँका मानिसहरूले होटेल व्यवसाय पनि गर्दै आइरहेका छन् । घान्द्रुकमा करिब ४ सय घरधुरी रहेकोमा १ सय ८ वटा घरहरूमा होटेल व्यवसाय रहेको छ ।

घान्द्रुक पर्यटन व्यवसाय समितिका अध्यक्ष विक्रम गुरुङले घान्द्रुकमा दिनप्रतिदिन पर्यटकहरू बढिरहेको बताए । उनले सन् २०१८ देखि नै यहाँ पर्यटकहरू आउन सुरु गरेको र अहिले दोब्बरको सङ्ख्यामा बढेको बताए । घान्द्रुकमा वार्षिक २ लाख भन्दा बढी पर्यटकहरू भित्रिने गरेको अध्यक्ष गुरुङ बताउँछन् ।

‘आन्तरिक र बाह्य पर्यटकहरू गरी घान्द्रुकमा वार्षिक २ लाख पर्यटकहरू भित्रिने गर्दछन्,’उनले भने‘अन्य महिनाको तुलनामा भन्दा जेठ, असार र साउन महिनामा कम पर्यटकहरू आउने गर्छन् ।’

विक्रम पर्यटन व्यवसाय समितिका अध्यक्ष मात्र होइनन्, उनी आफै पनि होटेल व्यवसायी हुन् । गुरुङ होटेल व्यवसायमा संलग्न भएको १३ वर्ष भयो । सुरुसुरुमा यहाँ होटेल सञ्चालन गरेर व्यवसाय गर्न सहज थिएन ।

गाउँका मान्छेहरूले गर्ने व्यवहारका लागि एकाध बाहिककाले होटेल खोल्ने आँट नै गरेका थिएनन् । तर, समयक्रमसंगै जसरी घान्द्रुकको परिचय बदलियो त्यसरी नै यहाँका मानिसको सोच पनि बद्लियो ।

‘गाउँघरमा होटेल गर्छु भन्दा गाउँका मानिसहरूले अरूको जुठो भाँडा माझ्नु पर्छ भर्ने नीच सोच राख्ने गर्थे । यसले गर्दा होटलहरु राख्ने चलन हुँदैन थियो,’ उनले भने,‘घान्द्रुकको सबै भन्दा पुरानो होटेल मिलन होटेल थियो, जुन २०२७ सालबाट खोलिएको थियो ।’

घान्द्रुकको विकास र परिचय बद्लिन धेरै समय त लागेको होइन, तर यहाँका नागरिकले गरेको संषर्घ भने अनुसरण गर्न लायक छ । घान्द्रुकमा होटेल, होमस्टेहरू सञ्चालन नहुँदा यहाँ आएका पाहुनालाई घरको बाहिर पिँडीमा सुताइन्थ्यो । जुटको बोरामा पराल राखेर ओछ्यान बनाइन्थ्यो । बिजुली बत्ती नहुँदा टुकी बालेर उज्यालो बनाइन्थ्यो । तर अहिले भने घान्द्रुकको परिचय र अवस्था दुवै फेरिएको छ ।

अध्यक्ष गुरुङले भने– ‘घान्द्रुकमा होटेल व्यवसायको सुरुवात हुनु भन्दा अगाडि पाहुनाहरूलाई पिँडीमा बास दिने चलन रहेको थियो । त्यस समय पाहुनाहरूलाई गुन्द्रीमा सुताइन्थ्यो र जुटको बोरामा पराल राखेर सुत्ने गर्थे । बिजुली बत्ती नहुँदा टुकी प्रयोग गरिन्थ्यो । बिस्तारै समयसँगै परिवर्तन हुँदै गएपछि सबै कुराहरू परिवर्तनसँगै विकास हुँदै गयो ।’

घान्द्रुकमा होटेल व्यवसाय गर्नेहरूको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । माछापुच्छ्रे गाउँपालिका सार्दि खोला घर भएका जोन गुरुङ पनि घान्द्रुकमा होटेल व्यवसाय गर्दै आएका छन् । होटेल रोधी एण्ड रेस्टुरेन्ट सञ्चालन गरेर उनले राम्रो आम्दानी गरिरहेका छन् । जोनले होटेल सञ्चालन गरेको १३ वर्ष भयो । घान्द्रुक उनको ससुराली गाउँ हो । उनले आफ्नो व्यवसाय किराना पसलबाट सुरु गरेका थिए ।

‘पहिलो चोटि ससुराली आउँदा घान्द्रुकमा किराना पसलको अभाव देखे पछि मैले किराना सञ्चालन गरेको हुँ । पर्यटकहरूको चाप बढे पछि किराना पसलका साथै होटेल सुरु गरेको हुँ,’उनले भने ‘होटेलमा ३ जना युवाहरूलाई पनि रोजगारी दिएको छु । यसको साथै हामी श्रीमान् श्रीमती मिलेर पनि काम गर्ने गर्छौ । छोरालाई पनि बजारमा पढ्न राखेका छौँ ।’

विदेश जाने होइन, गाउँ फर्किने अभियान

पछिल्लो समय नेपालमा विदेश जाने युवाहरूको सङ्ख्या बढ्दै गएको छ । नेपालका विभिन्न गाउँमा अहिले युवाहरू छैनन्, उनीहरू सबै रोजगारीका लागि बिदेसिएका छन्, कोही सहर पसेका छन् । अरू ठाउँका युवा विभिन्न बहानामा गाउँ छोड्ने र उतैबाट सहरतिर पलायन भइरहेको बेला घान्द्रुकमा भने उल्टो छ । घान्द्रुकका अधिकांश युवा अहिले गाउँ फर्किएका छन् । र विभिन्न पर्यटन व्यवसायमा लगानी गर्न हौसिएका छन् । गाउँकै स्थानीय पर्यटन व्यवसायमा लाग्दा पर्यटनमा दिगो विकास हुने स्थानीय पर्यटन व्यवसायी बताउँछन् ।

गाउँमा नै रोजगारीको अवसर र गाउँले पाएको नयाँ परिचयपछि बिदेसिएका र सहरीयका युवाहरू गाउँ फर्किरहेका छन् । विदेशबाट फर्किएर गाउँमा होटेल व्यवसाय गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ ।

घान्द्रुक पर्यटन व्यवसाय समितिका अध्यक्ष विक्रम गुरुङले विदेशबाट गाउँ फर्किनेको सङ्ख्या बढेको बताए । ‘अहिले यहाँको धेरै जसो मानिसहरूको व्यवसाय होटेल व्यवसाय हो । व्यवसायमा राम्रो हुँदै गए पछि यहाँका बासिन्दाहरू विदेशबाट फर्किएर गाउँमै काम गर्दै आएका छन्’ उनले भने ।

घान्द्रुक कसरी जाने ?

काठमाडौँबाट घान्द्रुक जाँदा मुग्लिङ, आबुखैरनी र दमौली हुँदै कास्की जिल्लाको पोखरामा पुग्न सकिन्छ । काठमाडौँदेखि करिब २०१ किलोमिटर हिँडेपछि पोखरा पुगेसँगै केही समय त्यहाँको मनोरम दृश्य अवलोकन गरी आराम गर्न सकिन्छ । त्यहाँबाट पुनः २४ किलोमिटर उत्तर पश्चिम हिँडेपछि घान्द्रुक पुगिन्छ ।

यस्तै, नेपालको पश्चिमी क्षेत्रबाट घान्द्रुक आउन चाहने मानिसहरूले रुपन्देहीबाट नै सिद्ध बाबा केराबारी हुँदै पोखरा पुग्न सकिन्छ । त्यहाँबाट उत्तर पश्चिमतर्फ २४ किलोमिटरको यात्रा तय गरेपछि घान्द्रुक प्रवेश गरिन्छ ।

बस्ने सुविधा

अहिले घान्द्रुकमा साना ठुला गरी झन्डै १ सय ८ होटेल छन् । होटलहरु आकर्षण ढङ्गले सजाइएका छन् । सबै होटेल सहर बजारका सुविधा सम्पन्न होटेलभन्दा कम छैनन् । यी होटलहरुमा विभिन्न प्रकारका नेपालीदेखि विदेशी खानाको स्वाद पाइन्छ ।

कति लाग्छ खर्च ?

घान्द्रुक हिमाली क्षेत्र हो । जहाँ वर्षभरि चिसो हुने गर्छ । त्यहाँ घुम्न जाँदा न्यानो कपडा अनिवार्य हुने छ । यहाँ ५ दिन घुम्न जानका लागि १० हजारदेखि १५ हजार रुपैयाँसम्म लाग्ने गर्दछ । एक दिन होमस्टेमा बसेर साँझ बिहानको खाना र खाजाको खर्च ८ सय रुपैयाँदेखि १५ सयसम्म लाग्दछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours