जनावर मारे जरिवाना र कैद, जनावरले मारे…

२७ पुष, काठमाडौँ । चितवनको रत्ननगर नगरपालिका–१३ जयमंगलाकी ७० वर्षीया कृष्णकुमारी थापाको पुस १६ गते मंगलबार गैंडाको आक्रमणमा परेर ज्यान गयो। घरमै घाम तापेर बसिरहेको अवस्थामा गैंडाले आक्रमण गर्दा कृष्णाकुमारी घाइते भइन्।

परिवारका सदस्यले उनलाई भरतपुर अस्पताल पुर्‍याए। तर उपचारको क्रममा उनको सोही दिन मृत्यु भयो। कृष्णाकुमारीका श्रीमान् पनि सोही गैंडाको आक्रमणबाट घाइते भए। ७८ वर्षका डम्बरबहादुर थापाको भने उपचार पछि ज्यान जोगिएकाे थियाे।

यता, पुस १४ गते आइतबार मकवानपुरको मनहरी गाउँपालिका–५ वसन्तपुरमा बाघको आक्रमणबाट ७२ वर्षीया कान्छीमाया रुम्बाको मृत्यु भयो। अपराह्न ४ बजेतिर घर नजिकैको बारीमा घाँस काट्न गएकी कान्छिमायालाई बाघले आक्रमण गर्‍यो। बाघको आक्रमणबाट मृत्यु भएकी कान्छिमायाको शव आइतबार साँझतिर बारीमा भेटियो।

यी र यस्ता घटनाहरू त केही प्रतिनिधि उदाहरण मात्रै हुन्। राष्ट्रिय निकुञ्जको खुल्ला क्षेत्रका कारण बर्षेनी दर्जनौं मानिसहरू जंगली जनावरको सिकार हुने गरेका छन्। पशु, चौपायको क्षति त झन् कति कति? निकुञ्जले जंगली जनावरले पुर्‍याएको मानवीय क्षतिमा जंगली जनावरको प्रकृति हेरेर पीडित परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउँछ।

१५ जनालाई आक्रमण, ४ जनाको मृत्यु

चालु आर्थिक बर्षको हालसम्मको अवधिमा १५ जनालाई जंगली जनावरले आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जको तथ्यांक छ। जसमध्ये ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपुरको विनय त्रिवेणी गाउँपालिका–१ का ६२ बर्षका जीतबहादुर थिङ रहेका छन्। उनको गत कार्तिक २ गते बाघको आक्रमणबाट मृत्यु भएको थियो।

यस्तै, नवलपुरको बर्दघाट सुस्तापूर्व कावासोती–७ का ६५ बर्षका शुकबहादुर बोटेको गत कार्तिक २० गते गैंडाको आक्रमणबाटै मृत्यु भएको बताइएको छ। नवलपुर बर्दघाट सुस्तापूर्व मध्यविन्दु नगरपालिका–६ का ६५ बर्षीय नाथुराम महतोको गैंडाको आक्रमणमा परेर गत मंसिर ८ गते मृत्यु भएको छ भने खैरहनी नगरपालिका–१३ बस्ने ३२ बर्षकी मेन्दोमाया भण्डारीको यही पुस १४ गते गैंडाको आक्रमणमा परेर मृत्यु भएको निकुञ्जले जनाएको छ।

पुस १६ गते मृत्यु भएकी रत्ननगर नगरपालिकाकी कृष्णमायाको पनि गैंडाकै आक्रमणबाट मृत्यु भएको थियो। तर उक्त क्षेत्र मध्यवर्ती क्षेत्रमा नपर्ने भएकोले उनको रेकर्ड निकुञ्जसँग नहरेर डिभिजन वन कार्यालयसँग रहने निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जनाकारी दिए।

जनावरले मारे नगदमै सिमित

त्यसोत, जनावरको आक्रमणबाट मृत्यु भएका पीडितका परिवारलाई चितवन राष्ट्रिय निकुञ्जले क्षतिपूर्ति स्वरुप चालु अर्थिक बर्षको हालसम्मको अवधिमा २७ लाख रुपैंया भन्दा बढी रकम निकासा गरेको जनाएको छ। हालसम्मको अवधिमा वन्यजन्तुबाट हुने क्षतिको राहत शीर्षकमा साउनदेखि मंसिर मसान्तसम्ममा २७ लाख ८८ हजार ९९२ रुपैंया वितरण गरिएको निकुञ्जका सूचना अधिकारी थापामगरको भनाइ छ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रका वन्यजन्तुबाट प्रभावित स्थानीय बासिन्दालाई उक्त परिणामको राहत रकम वितरण गरिएको निकुञ्जले जनाएको छ। निकुञ्जका वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका पीडितका परिवारलाई क्षतिपूर्ति स्वरुप १० लाख रुपैंया दिन्छ। बाघ, गैंडा र हात्तिको आक्रमणबाट मृत्यु भएमा समान १० लाख रुपैंया राहत रकम उपलब्ध गराइने निकुञ्जका सूचना अधिकारी थापामगरले जानकारी दिए।

‘घाइते भएको खण्डमा बिरामीको अवस्था अनुसारको उपचार खर्च उपलब्ध गराउँछौं,’ उनले भने, ‘मृत्यु भएको खण्डमा पीडित परिवारलाई १० लाख रुपैंया क्षतिपूर्ति रकम उपलब्ध गराउँछौं। यो आर्थिक बर्षमा मृत्यु हनुभएका केहीको क्षतिपूर्ति रकम दिन बाँकी छ।’

रातहमा स्थानीयकाे गुनासो

त्यसोत, निकुञ्ज क्षेत्रमा जनवारको चोरी पैठारीको घटनाहरू पनि उल्लेख्य बढेको पाइन्छ। चितवन राष्ट्रिय निकुञ्जको तथ्यांक हेर्ने हो भने चालु आर्थिक बर्षको हालसम्मको अवधिमा १५८ जना वन्यजन्तु सम्बन्धि विभिन्न कसुरमा पक्राउ परेका छन्। जसमा गैंडा मारेको कसुरमा मात्रै ५ जना पक्राउ परेका छन् भने बाघ मारेको कसुरमा १ जना पक्राउ परेका छन्।

बाँकी अन्य भने बँदेल, माछा सालक लगाएतको सिकारको क्रममा पक्राउ परेका हुन्। बिना अनुमति निकुञ्ज प्रवेश गर्नेदेखि निहुरो टिप्न जाने र घाँस दाउरा लिन जाने मानिसहरूलाई समेत निकुञ्जले पक्राउ गरी कारबाही गर्दै आएको छ। जसमध्ये ३ वटा मुद्धा थप अनुसन्धान तथा कारबाहीका लागि अदालतमा दर्ता गरिएको निकुञ्जले जनाएको छ भने ६ वटा मुद्धाको फैसला भएको तथ्यांक छ।

जनावर मारेको पुष्टि भए १० देखि १५ लाख जरिवाना सहित कैद सजाय भुक्तान् गर्नुपर्ने हुन्छ। बाघ, गैंडा र हात्तिलाई मारेको पुष्टि भए जरिवान र कैद दुवै सजाय हुने निकुञ्जका सूचना अधिकारी अविनाश थापामगर बताउँछन्।

निकुञ्जका जनावर बाहिर आएर घरमै बसेका मानिसहरूलाई आक्रमण गरी मृत्यु भएमा निकुञ्जले १० लाख रुपैंया उपलब्ध गराएर पन्छिन खोज्ने निकुञ्जको नियमले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयहरू दिकदार छन्। जनावरको सुरक्षाको लागि बनाइएको कानुन र नियम भन्दा पनि मानिसहरूको क्षतिमा दिइने रातहको दायरा कमजोर भएको स्थानीयहरूले गुनासो गर्दै आएका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours