२७ पुष, काठमाडौँ । चाडपर्वका वेला रमाइलोका लागि प्रदर्शन गरिने कला, संस्कृतिलाई व्यावसायिक रुप दिएर पश्चिम तराईका थारू समुदायले आयआर्जनको माध्यम बनाएका छन्।
गाउँघरका चाडपर्वमा नाचगान गर्ने दाङको घोराही-६ की वसन्ती चौधरी आजभोलि भने मेला महोत्सवमा पनि पुग्छिन्। सांस्कृतिक कार्यक्रममा व्यस्त हुन्छिन्। “अहिले हाम्रो कला, संस्कृतिले त कमाइ भइरहेको छ,” पक्वै गाउँ समूहकी सदस्य वसन्ती भन्छिन्।
उनी सहितको पक्वै गाउँ समूहले छरछिमेका गाउँका मेला महोत्सवमा पनि सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै आएको छ। शुरूआतमा सित्तैमा कार्यक्रम गर्ने उनीहरू अचेल भने पारिश्रमिक पनि पाउन थालेका छन्। “हाम्रो कला, संस्कृति तथा रैथाने थारू परिकार त व्यावसायिक भएका छन्,” उनी भन्छिन्, “गाउँठाउँमा प्रदर्शन गर्दा कला, संस्कृतिको संरक्षण र प्रबद्र्धन पनि भइरहेको छ।”
थारू कल्याणकारिणी सभा दाङकी सदस्य समेत रहेकी वसन्तीले भने झै कुनै वेला चाडपर्वमा सिमिति रहेको थारू संस्कृतिलाई अहिले भने व्यावसायिक पनि बनाउँदै लगिएको छ। मेला, महोत्सवदेखि विभिन्न संघसस्था तथा विद्यालयका कार्यक्रमका आकर्षण बनेका छन्। थारू समुदायका लोक कला, संस्कृति, नाचगानका लागि सांस्कृतिक समूहलाई टाढाटाढाबाट निम्तो पनि आउने गरेको छ।
निश्चित शुल्क लिएर विविध कार्यक्रममा कला प्रदर्शन गर्न थालिएको वसन्ती बताउँछिन्। त्यसबाट हुने आम्दानीले गाउँमा सामाजिक काम गर्न पनि सहयोग पुगिरहेको उनको भनाइ छ। “सांस्कृतिक प्रस्तुति गरेरै गाउँमा सामुदायिक भवन बनाएका छौं,” उनी भन्छिन्, “थारू वेषभूषा, गरगहना, मादल लगायत आवश्यक सामग्री पनि जुटाएका छौं।”
दाङकै दंगीशरण गाउँपालिका-३ हेकुली गाउँकी सुल्फी चौधरी मघौटा नाच प्रदर्शन गरेर आम्दानी भइरहेको बताउँछिन्। गत वर्ष माघमा मात्रै एक लाख रुपैयाँभन्दा बढी कमाएको सुल्फी सुनाउँछिन। “केही पैसा घरघरमा प्रदर्शन गरेर कमायौं, केही मेला, महोत्सवबाट आयो,” उनी भन्छिन्, “घरघरका कार्यक्रममा स्वस्फुर्त जति दियो, त्यति लिन्छौं। मेला, महोत्सवमा भने एउटा प्रस्तुतिको कम्तिमा पाँच हजार रुपैयाँ लिन्छौं।”
यसरी आम्दानी भएको पैसा गाउँको सामाजिक कार्यक्रममा पनि खर्च हुन्छ। केही सांस्कृतिक टोलीलाई पनि दिने गरिएको छ। “बचेको पैसाले थारू कला, संस्कृति संरक्षण र प्रबद्र्धनका लागि विभिन्न सामग्री किन्ने गरेका छौं,” उनी भन्छिन्।
मेला महोत्सव शुरू भएसँगै उनी व्यस्त हुन थालेकी छन्। अझ माघ महीनाभरी फुर्सद नभएको सुनाउँछिन्। “आजभोलि त मेला महोत्सवमा भ्याईनभ्याई छ,” सुल्फी भन्छिन्, “विभिन्न ठाउँबाट सांस्कृतिक प्रस्तृतिसँगै थारू परिकार बेच्नका लागि बोलाइरहेका छन्। सबै ठाउँमा पुग्न सकेका छैनौं।”
यो वर्ष आम्दानी बढाउने उनको समूहको लक्ष्य छ। त्यसैले सबैको जिम्मेवारी बाडफाँड गरिएको बताउँछिन्।
घोराही-६, लख्वार गाउँको नाच समूहकी सदस्य उषा चौधरी पुसदेखि नै सबै व्यस्त रहेको बताउँछिन्। यो नै सांस्कृतिक प्रस्तुति गरेर आम्दानी गर्ने समय भएको सुनाउँछिन्। “जति धेरै मेला, महोत्सव हुन्छन्, त्यति नै राम्रो हुन्छ,” उनी भन्छिन्, “मघौटा, हुडुंग्या, छोक्रा नाच देखाउँछौं।”
यसरी सांस्कृति प्रस्तुति राखेको शुल्क लिने गरेका छन्। एउटा कार्यक्रम प्रस्तुति राखेको दुई हजारदेखि पाँच हजार रुपैयाँसम्म लिने गरेको उषा बताउँछिन्। “कहिले काँही प्रतियोगितामा भाग लिन्छौं, त्यतिवेला शुल्क लिँदैनौं,” उनी भन्छिन्, “कहिले सहभागी भएर बापत पनि नाचेको पैसा पाउने गरेको छौं।”
थारू कल्याणकारिणी सभा लगायत संघसंस्थाले आयोजना गरेका कार्यक्रममा नृत्य समूहले सहयोग पाउँछन्। थारू भाषा, कला, संस्कृतिको संरक्षण र प्रबद्र्धन गर्न नृत्य समहूलाई प्रोत्साहन स्वरुप सहयोग दिने गरिएको अध्यक्ष अशोक थारू बताउँछन्। महोत्सवमा सहभागी भएका नृत्य टोलीलाई दुई हजार रुपैयाँको दरले सहयोग दिने गरिएको अशोक सुनाउँछन्।
थारू महोत्सवमा दर्जनौं नृत्य टोली सहभागी हुन्छन्। गत वर्ष ६० वटा समूहलाई दुई हजार रुपैयाँ दरले सहयोग गरिएको उनी बताउँछन्। “थारू कला, संस्कृतिको प्रवद्र्धनसँगै नाच्ने टोलीलाई प्रोत्साहन पनि भइरहेको छ,” अध्यक्ष अशोक भन्छन्, “महोत्सवमा प्रदर्शन हुने नृत्य देखेर विभिन्न संघसस्थाले समेत कार्यक्रममा बोलाउने गरेका छन्। त्यसबाट उनीहरूको आम्दानी हुन्छ।”
संस्कृतिसँगै परिकार
सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने समूहले रैथाने परिकार पनि लग्छन्। उनीहरूले मेला महोत्सवमा रैथान परिकार राख्छन्। त्यसबाट पनि आम्दानी भइरहेको वसन्ती चौधरी सुनाउँछिन्। “थारू परिकारहरू ढिक्री, सुँगुरको मासु, लोक चल्लाका मासु, घोङघी, गंगटा, अनडीको झोल लगायत बेच्छौं,” उनी भन्छिन्, “कला, संस्कृति र परिकारले दोहोरो फाइदा भएको छ।।”
वसन्ती सदस्य रहेको पक्वै गाउँ समूह गत वर्ष पनि माघी महोत्सवमा रैथाने परिकार राखेको थियो। त्यसबाट दुई दिनमै एक लाख रुपैयाँभन्दा बढी कमाइ भएको उनी सुनाउँछिन्। “यो पाली त त्योभन्दा बढी बेच्ने लक्ष्य राखेका छौं,” उनी भन्छिन्, “थारू संस्कृतिदेखि रैथाने परिकार कमाइ गर्ने बाटो भनेको छ।”
थारू रैथाने परिकार त होटल, रेस्टुरेन्टमा पनि ग्राहक आकर्षक गर्ने माध्यम बनेका छन्। कबिला रिर्सोटका कार्यकारी निर्देशक विकास चौधरी आफ्नो रिसोर्टको आकर्षण नै रैथाने थारू परिकार तथा थारू संस्कृति बनेको बताउँछन्। “थारू रैथाने परिकार ढिक्री, सुँगुरको मासु, लोक चल्लाका मासु, हाँसको छोइला, घोङघी, गंगटा, माछा, सुगुरको पक्वा, अनडीको रोटी, झोल, मौह्वाका डारू लगायत परिकार राखेका छौं,” उनी भन्छन्, “कतिपय त थारू परिकार खानका लागि रिसोर्टमा आउँछन्।”
यससँगै सांस्कृतिक कार्यक्रम आयोजना हुने गरेका छन्। रिसोर्टमा सांस्कृतिक कार्यक्रममा लागि नृत्य समूहलाई पारिश्रमिक पनि दिने गरिएको छ। “एउटा नाचको तीन हजादेखि पाँच हजार रुपैयाँसम्म पर्छ,” उनी भन्छन्, “थारू कला,, संस्कृतिलाई व्यावसायिक बनाउँदै लग्दा एकातिर आयआर्जनको माध्यम बनेको छ भने अर्कातिर समग्र थारू समुदायको कला, संस्कृतिको जगेर्नामा पनि सहयोग पुगेको छ।”
+ There are no comments
Add yours