२६ पौष, काठमाडौँ । औषधी व्यवस्था विभागले प्रतिबन्धित औषधी बिक्री वितरण भैरहेको पाइएको भन्दै त्यस्ता औषधी बिक्री नगर्न चेतावनीयुक्त सूचना जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले औषधी बिक्री वितरणमा देखिएका बेतिथि रोक्न अनुगमन तथा कारबाही प्रक्रियामा कडाइ गर्न भनेपछि विभागले सार्वजनिक सूचना जारी गरेको हो ।
विभागले पुष २५ गते जारी गरेको सार्वजनिक सूचनामा विभागमा दर्ता नभएका तथा चिकित्सकको पुर्जीमा मिश्रित फर्मास्युटिकल बनावट भएका औषधीहरू, न्युट्रास्युटिकल्सका नाममा तथा औषधीमिश्रित सौन्दर्य प्रशाधनसमेत बिक्री भैरहेको गुनासो आएकाले यसलाई रोक्न चेतावनी दिएको छ ।
अनुगमनका क्रममा विभागमा दर्ता नभएका तथा प्रतिबन्धित औषधीहरू चिकित्सकीय पूर्जामा सिफारिस हुँदा नागरिकको स्वास्थ्यमा प्रतिकूल असर परेको निरीक्षणका क्रममा पाइएको भन्दै यस्ता औषधीको बिक्री वितरण तथा सिफारिस रोक्न चिकित्सक तथा औषधी फर्माहरूलाई सूचित गरेको छ ।
विभागले नियमित अनुगमन भैरहने भन्दै सूचनाको अवज्ञा गरी बिक्री वितरण गरेको पाइएमा जफत तथा औषधी ऐन, २०३५ बमोजिम कारबाही गरिने चेतावनी दिएको छ । विभागले विगतमा प्रतिबन्धित भिटामिन तथा खनिज मिश्रित वस्तु बिक्री गर्नेविरुद्ध न्यायालयबाट समेत मागदावी बमोजिम आदेश प्राप्त भएको भन्दै पटक-पटक सूचना जारी गर्दा पनि कानुनविपरीत गर्नेलाई कारबाही गर्ने चेतावनी दोहोर्याएको छ ।
कतिपय चिकित्सकले आवश्यक मात्राभन्दा बढी भिटामिन तथा खनिज समिश्रित औषधी सिफारिस गर्ने गरेको गुनासो समेत मन्त्रालयले प्राप्त गरेको प्रवक्ता प्रकाश बुढाथोकीले बताए । दर्ता र अनुमति दुवै नपाएका त्यस्ता औषधीका रूपमा सिफारिस गर्नु गैरकानुनी भएकाले बिक्री तथा सिफारिस गर्नेविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने महानिर्देशक नारायण ढकालले बताए।
+ There are no comments
Add yours