सूर्यदर्शन सहकारी ठगीमा सरकारी वकिलको जवाफी बहस आज, थुनछेक आदेश आजै आउला? 

२५ पौष, पोखरा । सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका ७ जनाविरुद्धको थुनछेकमा प्रतिवादी र जाहेरवालाका कानुन व्यवसायीको बहस सकिएको छ । सरकारी वकिलले बिहीबार (आज) जवाफी बहस गरेपछि जिल्ला न्यायाधीश नीतिज राईको इजलासबाट आदेश आउनेछ ।

जिल्ला अदालतमा बुधबार जाहेरवालाका तर्फबाट अधिवक्ता रमण कर्ण, राम घिमिरे र वेदबहादुर विष्टले जवाफी बहस गरेका थिए । त्यसअघि प्रतिवादी रामबहादुर खनालका तर्फबाट वरिष्ठ अधिवक्ता विष्णुप्रसाद शर्मा र मोहनबहादुर थापाले बहस गरेका थिए ।

प्रतिवादी कृष्णबहादुर गुरुङको पक्षबाट अधिवक्ता हरि सुवेदी र गंगाप्रसाद सुवेदी तथा मीना गुरुङ र आरती गुरुङको पक्षबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर र अधिवक्ता मनोज घर्तीमगरले थुनछेक बहस गरेका थिए । छविलाल जोशी, लीला पछाई र रवि लामिछाने पक्षका कानुन व्यवसायीको बहस भने यसअघि नै सकिएको थियो ।

जाहेरवालातर्फका कानुन व्यवसायीले लामिछानेसहित सातै जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न यथेष्ट प्रमाण रहेको तर्क गरे । अधिवक्ता कर्णले सहकारीबाट गैरकानुनी रूपमा रकम लगेर ग्यालेक्सी टीभी खोल्ने उद्देश्यले नै गोर्खा मिडिया नेटवर्क प्रालि नामक कम्पनी खडा भएकाले संगठित रूपमा सहकारी ठगी भएको दाबी गरे ।

उनले गोर्खा मिडियामा लामिछाने प्रबन्ध निर्देशकका रूपमा कार्यकारी भूमिकामा रहने हुँदा जीबी राईलाई देखाएर उम्किन नमिल्ने तर्क गरे ।

‘सहकारीबाट गोर्खा मिडियामा पैसा लगेर अपचलन गर्न जीबी राईलाई मात्र दोषी देखाइएको छ । राईको एकल भूमिकामा यति ठूलो अपचलन सम्भव छैन,’ उनले भनेका थिए, ‘सहकारीको पैसा अपचलन गर्न गोर्खा मिडिया खोलिएको र त्यहाँबाट पैसा खर्च गर्न रवि लामिछाने एमडी (प्रबन्ध निर्देशक) बनेको देखिन्छ । सहकारीको सदस्य बनेर उहाँले ऋण लिनुभएको भए उहाँविरुद्ध यो मुद्दा चल्ने नै थिएन । उहाँले सदस्य नबनी ऋण लिनुभयो, अवैध बाटोबाट लिनुभयो । सहकारीबाट कम्पनीमा लैजानै नमिल्ने पैसा लगेर खर्च गर्नुभयो, त्यही भएर मुद्दा चलेको हो ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours