चौध लाख योग्यमध्ये बाइस हजारको मात्रै आवेदन

२५ पौष, काठमाडाैँ । कक्षा ११ र १२ को मौका परीक्षामा विद्यार्थीको अरुचि देखिएको छ । विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका २१ वर्ष पुराना विद्यार्थीलाई लक्षित गर्दै राष्ट्रिय परीक्षा बोर्डले मौका परीक्षाको अवसर दिएको थियो ।

बोर्डले २०५६ सालको परीक्षामा सहभागी भएकादेखि २०७७ सालमा सहभागी भएर अनुत्तीर्ण भएका परीक्षार्थीलाई यस्तो परीक्षामा सहभागी हुने मौका दिएको थियो । बोर्डको तथ्याङ्क अनुसार यस अवधिमा सञ्चालन गरिएको नियमित तथा मौका परीक्षामा सहभागी भएर पनि अनुत्तीर्ण भएका परीक्षार्थी करिब १४ लाख छन् ।

तर परीक्षामा सहभागी हुनका लागि बोर्डले परीक्षा फाराम खुलाउँदा २२ हजारले मात्रै आवेदन दिएका छन् । बोर्डका सहपरीक्षा नियन्त्रक कृष्ण घिमिरेका अनुसार दुई पटकसम्म म्याद थप्दा २१ हजार ८५३ जनाको मात्रै आवेदन परेको छ ।

विविध कारणले तोकिएको समयमा फाराम भर्न नसक्ने विद्यार्थीबाट बोर्डले अहिले पनि केन्द्रीय तथा प्रादेशिक कार्यालयबाट भौतिक रूपमै फाराम सङ्कलन गरिरहेको छ तर फाराम भर्नेहरू नगण्य छन् । पहिलो चरणमा परीक्षा फाराम भर्ने समय मङ्सिर २७ गतेसम्मका लागि थियो । परीक्षा फाराम भर्न बोर्डले निर्धारण गरेको दोस्रो समयसीमा भने पुस १३ गतेसम्मका लागि थियो ।

बोर्डका सहनियन्त्रक घिमिरेका अनुसार परीक्षा फाराम भर्नेमा २०६० सालपछिको परीक्षामा सहभागी भएर अनुत्तीर्ण भएकाहरू धेरै छन् । “त्यसभन्दाअघिका परीक्षार्थीमध्ये धेरै जसोले त उमेरका कारणले पनि फाराम भर्नुभएन होला । कतिपय परीक्षार्थी परीक्षामा अनुत्तीर्ण भएपछि वैकल्पिक बाटोतिर पनि लागिसक्नुभएको होला,” घिमिरेले भन्नुभयो ।

तर शिक्षाविद् प्राडा बालचन्द्र लुइटेलले भने पढेर उपलब्धि हुनेमा सशङ्कित हुनेको जमात धेरै भएका कारण मौका परीक्षामा सहभागी हुन अरुचि देखिएको विश्लेषण गर्नुभयो । साथै २१ वर्षअघि परीक्षामा अनुत्तीर्ण भएकाहरू अहिले आआफ्नो पेसा व्यवसायमा लागिसकेका हुनाले पनि परीक्षा फाराम भर्ने थोरै भएको अनुमान लुइटेलको छ ।

मौका परीक्षामा सहभागी हुन फाराम भर्नेको सङ्ख्या यकिन भएपछि उनीहरूलाई कहिलेदेखि मौका परीक्षा सञ्चालन गर्ने भन्ने निर्णय गरिने बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्ड

(तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्) ले २०५२ सालदेखि कक्षा ११ को पढाइ सुरु गरेको थियो । सुरुवाती तीन वर्षसम्म त्रिभुवन विश्वविद्यालयको तत्कालीन प्रवीणता प्रमाणपत्र तह प्रथम वर्ष र द्वितीय वर्षको पाठ्यक्रममा आधारित भएर कक्षा ११ र १२ को पढाइ सञ्चालन गरिएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours