शान्तिप्रक्रियाका बाँकी काम सहमतिमै टुंग्याउनुपर्छ : प्रचण्ड

२४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्तिप्रक्रियाका बाँकी काम सबैको सहमतिमै पूरा गर्नुपर्ने बताएका छन् ।

विगतमा आफूलाई पटकपटक बहुमत र अल्पमतको आधारमा शान्तिप्रक्रियासँग जोडिएको विधेयक टुंग्याउन आग्रह गरिएको भए पनि सधैँ त्यसलाई इन्कार गरेको उनको भनाइ छ ।

राज्यद्वारा बेपत्ता पारिएका राजेन्द्र ढकालको २६औं स्मरण दिवसको अवसरमा परिवारले बुधबार आयोजना गरेको ‘शान्तिप्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ विषयक कार्यक्रममा प्रचण्डले यस्तो बताउका हुन् ।

‘मलाई पटकपटक बहुमत र अल्पमतको आधारमा शान्तिप्रक्रियासँग जोडिएको विधेयक टुंग्याउन आग्रह गरिएको थियो । तर, मैले त्यसलाई इन्कार गरिरहेँ,’ उनले भने, ‘हामीले जसरी १२बुँदे समझदारी र शान्तिसम्झौतामा सहमति गरेका छौं, त्यसैको मर्म र भावनाअनुसार नै यसलाई टुंग्याउनुपर्छ ।’

बिचलित भएर सहमतिबाट दायाँबायाँ भए शान्तिप्रक्रिया अझै धेरै वर्ष अलपत्र पर्न सक्ने भन्दै उनले यसमा निरन्तर सहमतिको प्रयास भइरहेको जानकारी दिए ।

केही राजनीतिक शक्तिहरूले यसलाई माओवादीविरुद्ध प्रयोग गर्ने हतियारको रूपमा लिएका कारण पनि शान्तिप्रक्रियाका बाँकी काम टुंगिन समस्या आएको प्रचण्डको भनाइ थियो । ‘अघिल्लो संसद्कै बेलामा विधेयक टुंग्याउन लागिएको थियो । तर, अन्तिममा समस्या आयो,’ उनले भने, ‘यसपटक विधेयक टुंगिएर पनि आयोग गठनका लागि सिफारिस समिति बनेको बेलामा अन्तिम समयमा समस्या आएको छ, यसको मुख्य कारण राजनीतिक नै हो । शान्तिप्रक्रियालाई माओवादी कमजोर बनाउने अन्तिम हतियारको रुपमा लिएकाले नै यो नटुंगिएको हो । अब विस्तारै दबाब बढाउन यो विषय सडक र सदनमा लैजानुपर्छ भन्ने लागेको छ । हाम्रो पार्टी पीडितहरुको पक्षबाट नेतृत्व गर्न तयार छ ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours