महोत्तरीका उखु किसानले पाए भुक्तानी

२४ पौष, महोत्तरी । मुलुकका विभिन्न जिल्लामा उखु किसानले भुक्तानी नपाएका खबर आइरहँदा महोत्तरीको गौशाला–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजले भने नियमित तालिकामा भुक्तानी दिइरहेको छ ।

यसपालि जारी क्रसिङ सिजनमा पुस तेस्रो साताभित्रै उद्योगले पाँच पटक गरेर किसानलाई रु ४५ करोड ६४ लाख ६१ हजार भुक्तानी गरिसकेको जनाएको छ ।

गत मङ्सिर २६ गते उखु क्रसिङ (उखु पेल्न) थालेको उद्योगले त्यसयता शनिबारसम्म आठ लाख ४५ हजार ७० क्वीन्टल उखुको भुक्तानी दिइएको उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाले जानकारी दिए ।

यस सिजनमा उद्योगले ३५ लाख क्वीन्टल उखु क्रसिङको लक्ष्य लिएको छ । यो गत वर्षभन्दा छ लाख क्वीन्टल बढी हो । यसपटक सरकारले पनि उखु क्रसिङ अगावै मूल्य निर्धारण गरेपछि भुक्तानीमा सहज भएको शुक्लाको भनाइ छ । सरकारले उखुको मूल्य प्रतिक्वीन्टल रु पाँच सय ८५ निर्धारण गरेको छ । यो गत वर्षभन्दा रु २० बढी हो । उद्योगले दिने उखुको मूल्यबाहेक किसानलाई सरकारले प्रतिक्वीन्टल ७० रुपैयाँ अनुदान दिने जनाइएको छ ।

उद्योगले समयमै भुक्तानी दिए पनि किसानले राहत महसुस गरेका छन् । चार वर्ष पहिलेसम्म भुक्तानीका लागि वर्ष दिनसम्म भौतारिनुपर्ने अवस्था अन्त्य हुनु निकै सकारात्मक भएको उखु उत्पादक किसान सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहा बताउँछन् । “उद्योगले भुक्तानी सहज बनाएको छ तर मूल्यमा किसान ठगिएका छन् र उत्पादक किसानले यसपटक गत वर्षको मूल्यमा १५ प्रतिशत थपको माग गरेका थिए तर सरकारले प्रतिक्वीन्टल रु २० मात्र थपेको छ । हामी अझै यसबारे सरकारले पुनःविचार गरिदेओस् भन्नेमा छौँ”, उनले भने ।

भुक्तानी सहज बनेपछि यहाँ उखुखेती गर्ने क्षेत्रफल पनि बढ्दै गएको छ । १५ वर्ष पहिले जिल्लामा १५ हजार बिघा पुगेको खेती भुक्तानी झमेलाले घट्दै गएर आव २०७७–७८ मा पाँच हजार बिघामा झरेको थियो । यद्यपि भुक्तानी क्रमशः सहज बन्दै जाँदा खेती बढ्दै गएर यसपालि नौ हजार बिघा पुगेको जनाइएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours