माओवादी बैठकमा अरुलाई बोल्न ३ मिनेट, जनार्दनलाई १३

२३ पुस, काठमाडौं । काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ ।

सोमबारबाट सुरु छलफलमा भाग लिन एक सय ८० जनाले नाम लेखाएका थिए । प्रत्येकलाई तीन–तीन मिनेटभित्र अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न समय निर्धारण गरिएको थियो । नाम टिपाएकामध्ये सोमबार ८० जनाले निर्धारित समयभित्रै धारणा राखे ।

मंगलबार बिहान ११ बजेबाट पुनः छलफल सुरु भयो । नाम टिपाएका केन्द्रीय सदस्य, पोलिट्ब्युरो, हुँदै स्थायी समिति र अधिकांश पदाधिकारीले खाजा समयअगाडि नै आआफ्ना धारणा राखिसकेका छन् । उनीहरू सबैले तीन–तीन मिनेटभित्रै आफ्ना कुरा राखे ।

एक केन्द्रीय सदस्यका अनुसार उपमहासचिव जनार्दन शर्माले भने १० मिनेट बढी समय लिए । उनले बोल्ने पालो आएपछि आफ्नाबारेमा प्रश्नहरू उठेकाले तिनको जवाफ दिनुपर्ने र आफूले पनि प्रतिवेदनसहित नेतृत्वसँग जवाफ माग्नुपर्ने भएकाले समय नपुग्ने भन्दै अध्यक्षसँग समय थपको माग गरेका थिए ।

उनको मागअनुसार नै अध्यक्ष प्रचण्डले १० मिनेट थप राख्नुस् भनेपछि शर्माले १३ मिनेटसम्म बोले । खाजा समयअगाडिको छलफलमा उपाध्यक्ष कृष्णबहादुर महरा उपस्थित थिएनन् भने उपस्थित भए पनि शक्ति बस्नेतले धारणा राखेनन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours