२२ पुस, काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा चाैथो राईट टु प्रोटिन रन हाफ म्याराथन आगामी माघ १२ गते हुने भएको छ । आयोजकले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।
नेपालकै सर्वाधिक धनराशीको उक्त हाफ म्याराथनमा करिब ८ हजार जना सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । नेपाल भेटेनरी संघका निवर्तमान अध्यक्ष डा. शितलकाजी श्रेष्ठले सहभागीहरूको संख्या बढिरहेको जानकारी दिए ।
प्रोटिन माथिको अधिकार (राईट टु प्रोटिन)को मर्मलाई आत्मसात् गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउनको लागि जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको म्याराथन दशरथ रंगशालाबाट सुरू भएर त्यहीँ आएर टुंगिनेछ ।
यस प्रतियोगितामा हाफ म्याराथन (पुरुष तथा महिला), पुरुष १० किमि, महिला ५ किमि, १२ कक्षा सम्मका विद्यार्थीहरुलाई ५ किमि (पुरुष) र ३ कि मी (महिला), फरक क्षमता भएका व्यक्तिहरूको लागि ह्विलचेयर (पुरुष तथा महिला) र बालबालिकाहरुको लागि ‘रन फर फन’ विधाका दौडहरु समावेश गरिएका छन् ।
हाफ म्याराथनमा पुरुष र महिला दुवैलाई प्रथम पुरस्कार रु एक लाख पचास हजार रहेको छ भने पाँचौं स्थानसम्म प्राप्त गर्नेलाई पुरस्कारको व्यवस्था गरिएको छ। अघिल्लो संस्करणसम्म हाफ म्याराथनका विजयीहरुलाई रु १ लाख पुरस्कार दिईएकोमा यसपटक त्यसलाई बढाएर रु १ लाख ५० हजार राखिएको हो ।
गत वर्षको हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ दिपक अधिकारी प्रथम भएका थिए । सन्तोषी पहिलो संस्करणमा पनि विजेता थिइन् । ओलम्पियन समेत रहेकी उनले यसपटक पनि दौडने जनाएकी छन् ।
+ There are no comments
Add yours