विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने

१८ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउन विद्यालय स्वास्थ्य दूत नियुक्त गर्ने निर्णय गरेको छ । ‘विद्यालय नर्स कार्यक्रम’ लागू भइरहेका विद्यालयमा स्वास्थ्य प्रवर्द्धनात्मक विद्यालय र विद्यालय स्वास्थ्य दूतसमेत रहने गरी स्वास्थ्य सेवा तथा नर्सिङ कार्यक्रम सञ्चालन निर्देशिका परिमार्जन गरिएको छ ।

अब विद्यालय नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीले स्वास्थ्य दूतका रुपमा स्वास्थ्यसम्बन्धी आधारभूत जानकारी तथा स्वास्थ्य सजगतासम्बन्धी जानकारी फैलाउन विद्यालय नर्सलाई सघाउनेछन् । यस्तै नियमित खोप कार्यक्रम तथा अन्य सचेतनामूलक कार्यक्रममा समेत विद्यालय स्वास्थ्य दूतलाई उपयोग गर्ने गरी मन्त्रालयले निर्देशिका परिमार्जन गरेको छ ।

विद्यालय स्वास्थ्य दूतलाई मन्त्रालयले दूतको परिचय र ब्याचका अलावा आवश्यक स्वास्थ्य जानकारीमूलक सामग्री पठाउनेछ । हाल देशका सातै प्रदेशका एक हजार ३८६ विद्यालयमा कार्यक्रम लागू भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले रोगनिरोधात्मक कार्यक्रमका लागि विद्यालयलाई समेत सहभागी गराउने गत साउन २७ गते योजना तथा कार्यक्रममा घोषणा गरेका थिए । सोही कुरालाई मद्दत मिल्ने गरी हाल निर्देशिका परिमार्जन गरेर विद्यालय स्वास्थ्य दूत थप्न लागिएको हो ।

५०० जना विद्यार्थी भएका विद्यालयमा एक छात्र र एक छात्रा स्वास्थ्य दूत बन्नेछन् । उनीहरुलाई मन्त्रालयको नर्सिङ महाशाखामार्फत स्थानीय तह र विद्यालयका नर्सले सचतेनामूलक कार्यक्रममा सहभागी र नेतृत्व दिलाउनेछन् ।

‘हामीले नागरिकको स्वास्थ्य सुधार गर्न बालबालिका तहबाटै काम हुनुपर्छ भनेर यस्तो व्यवस्था गरेका हौं,’ मन्त्री पौडेलले भने, ‘यसले बालबालिका र उनीहरुमार्फत समुदायको स्वास्थ्य जानकारी वृद्धि हुने अपेक्षा गरेका छौं ।’

मन्त्रालयले यस वर्ष प्रयोगका रुपमा लागू गर्ने र अगामी वर्ष बजेटमा व्यवस्था गरेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

अहिले विद्यालय नर्स कार्यक्रमका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरिरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours